भद्रपुर । 

मोफसलको चर्चित क्लब झापा ११ फुटबल क्लब भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । आजको जितसँगै झापा ११ ले उपाधिका लागि आयोजकको टिम भद्रपुर ब्लेजर्ससँग शुक्रबार खेल्नेछ । उसले कम्तिमा ७ लाख रुपैयाँ पक्का गरेको छ ।

भद्रपुरस्थित मेची रङ्गशालामा आज भएको अन्तिम सेमिफाइनल खेलमा झापा ११ ले विदेशी टोली भुटानको डागा युनाइटेड एफसीलाई ३–१ गोल अन्तरले हराउँदै उपाधिनजिक पुगेको हो । ९० मिनेटसम्म १–१ को बराबरीमा रहेको खेल इन्ज्युरी समयमा ३–१ अन्तरमा पुगेको थियो । घरेलु दर्शकको समर्थन रहेको झापा ११ ले खेलको ५५ औँ मिनेटमा अग्रता बनाएको थियो ।

एरोन थापाले २५ यार्डबाट प्रहार गरेको पावरफुल फ्रिकिक भुटानका गोलकिपर रुपक कोयाले पञ्च गर्न खोज्दा बलले जाली चुमेको थियो । भुटानका सुरज रसाइलीले एरोन थापालाई फाउल गर्दा झापाले फ्रिकिक पाएको थियो । खेलको ८४ औँ मिनेटमा भुटानका सुरज रसाइलीले गोल फर्काउँदै खेल १–१ को बराबरीमा ल्याए । रसाइलीले मैदानको मध्य भागबाट लगेको बल दुईजना डिफेन्डरलाई बिट गर्दै जाली चुमाएका थिए ।

दोस्रो हाफको अतिरिक्त समयमा रोहन कार्कीले गोल गर्दै खेल २–१ को स्थितमा पुर्याए । झापाका मिडफिल्डर एलन थापाको प्रहारलाई भुटानका गोल किपर रसाइलीले बल नियन्त्रणमा लिन नसक्दा बललाई कार्कीले पोस्टको दिशा दिए । अतिरिक्त समयमा नै हरिबहादुर आले मगरले गोल गर्दै टिमलाई ३–० को स्थितिमा पुर्याए । समिर तामाङको क्रसपासलाई सदुपयोग गर्दै आलेले टिमको जित पक्का गरे ।

खेलको दोस्रो मिनेटमा भुटानका लाक्पा पाख्रिनको प्रहार झापाका गोलकिपर सन्दिप लिम्बूले रोके । खेलको १७ औँ मिनेटमा भुटानका तुसार विश्वकर्माको प्रहार गोलकिपर लिम्बूले पञ्च गरी बचाउ गरे । खेलको १४ औँ भुटानले अग्रता लिने अवसर गुमायो । हेमराज भुजेलको पावरफुल प्रहार क्रसबारको मध्य भागमा लागेर फर्कियो । खेलको ३७ औँ मिनेटमा झापाका समिर तामाङले पेनाल्टी एरियामा चुके ।

खेलको ६८ औँ मिनेटमा झापाका बबिन बोहोराको प्रहार क्रसबार नजिकैबाट बाहिरियो । खेलको ८३ औँ मिनेटमा पेनाल्टी एरियामा झापाका समिर तामाङको क्रस पासमा एरोन थापाले गरेको प्रहार गोलकिपर रसाइलीले रोके । खेलको प्लेयर अफ द म्याच झापा ११ का एरोन थापा भए । उनले नगद २१ हजार र ट्रफी पाए ।

खेलपिछ भएको पोस्टम्याच कन्फ्रेन्समा झापाका सहायक प्रशिक्षक सन्तोष गुरूङले टिमभित्र खेलाडीको प्रदर्शन निरन्तर राम्रो देखिएकोले भुटानमाथि सहज जित दर्ता गर्न सफल भएको बताए । झापाले बी डिभिजन लिगको तयारी गरिरहेको अवस्थामा मछिन्द्र तथा चर्च ब्वाइज जस्तो टिमलाई हराएर फाइनलमा पुग्दा खेलाडीमा आत्मविश्वास झन बढेर गएको उनको भनाइ छ ।

त्यस्तै, भुटानका प्रशिक्षक दोर्जी खन्डुले आजको खेल निक्कै प्रतिस्पर्धात्मक रहे पनि गोल किपर चुक्दा हार व्यहोर्नु परेको बताए । केपी ओेली कपमा समेत भाग लिएको र केही राम्रा खेलाडी त्यहाँ भएकोले आजको खेलमा केही समस्या उत्पन्न भएको उनको भनाइ छ ।

सौर्य एअर ओम साई पाथिभरा हस्पिटल गम्भीर राई स्मृति संस्करण अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताअन्तर्गत फाइनल खेल फागुन १६ गते हुने गोल्डकपका सचिव तीर्थराज ढकालले जानकारी दिए ।

गोल्डकपको विजेताले नगद १३ लाख, आकर्षक ट्रफी र मेडल र उपविजेताले नगद ७ लाख, ट्रफी र मेडल प्राप्त गर्ने अध्यक्ष दिपेश ढकालले बताए । प्रतियोगिताभरिको सर्वोत्कृष्ट खेलाडी प्लेयर अफ द टुर्नामेन्टले नगद एक लाख पाँच हजार रुपैयाँ पाउनेछ । त्यस्तै, उत्कृष्ट गोलकिपर, उच्च गोलकर्ता, उदीयमान खेलाडी र प्रशिक्षकले नगद २५ हजार पाउने महासचिव जीवनकुमार श्रेष्ठले बताए । प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई नगद २१ हजार रुपैयाँ दिइनेछ ।

एकजना दर्शकले महेन्द्ररत्न स्टोर बिर्तामोडका तर्फबाट एक थान हिमस्टार टिभी, एयरपोर्ट होटलका तर्फबाट एकजना दर्शकले दुईजनाको डिनर र सुनचाँदी व्यवसायी संघ भद्रपुर शाखाको तर्फबाट दुईवटा चाँदीको सिक्का पाए ।