भद्रपुर ।
काउर्न बाजार प्रगति संघ बंगलादेश भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको तेस्रो क्वार्टर फाइनल खेलमा बंगलादेशले न्यु रोड टिम ९एनआरटी० लाई २–० गोल अन्तरले हराउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । बंगलादेशले सेमिफाइनलमा आयोजकको टिम भद्रपुर ब्लेजर्ससँग फाइनल प्रवेशका खेल्नेछ ।
बंगलादेशले खेलको २४ औँ मिनेटमा अग्रता बनायो । साकिलको क्रस पासमा पेनाल्टी एरियाभित्र अनमार्क रहेका साहिदले गोल गरे । लगत्तै खेलको २६ औँ मिनेटमा बंगलादेशका विदेशी खेलाडी एस सिल्लाहले गोल गर्दै टिमलाई २–० ले अग्रता दोब्बर बनाए ।
सिल्लाहले मध्य भागबाट सिंगल खेल्दै बललाई जाली चुमाएका थिए । दोस्रो हाफमा दुवै टोलीले गोल गर्न सकेनन् । पहिलो रोजाईका खेलाडीको अनुपस्थितमा एनआरटीलाई बंगलादेशले खेलभरि दबाबमा राखेको थियो । खेलको पाँचौँ मिनेटमा एनआरटीका मोहित गुरूङले पेनाल्टी एरियाभित्र पाएको अवसर गुमाए । उनको प्रहार क्रस बार नजिकैबाट बाहिरियो । खेलको १६ औँ मिनेटमा गुरूङ फेरि पेनाल्टी एरियामा चुके ।
खेलको ३८ औँ मिनेटमा शिशिर लेखीको प्रहार पनि बाहिरियो । खेलको ५२ औँ मिनेटमा मोहित गुरूङको प्रहार बंगलादेशका गोलकिपर रब्बीले बचाउ गरे । खेलको ४८ औँ मिनेटमा साकिलले प्रहार गरेको बल दोस्रो बार छेउबाट बाहिरियो ।खेलको प्लेयर अफ द म्याच बंगलादेशका एस सिल्लाह भए । उनले नगद २१ हजार र ट्रफी पाए ।
खेलपछि भएको पोस्टम्याच कन्फ्रेन्समा बंगालदेशका सहायक प्रशिक्षक सोएल रहमानले नेपालको उत्कृष्ट टिम रहेको एनआरटीले खेल्ने तरिकाको बारेमा सामाजिक सञ्जालहरूमा हेरेर आफ्नो खेलाडीहरूलाई मैदानमा उतारेको र पहिलो खेलमै जित दर्ता गर्न सफल भएको बताए । सेमिफाइनलमा पनि रणनीति बनाएर फाइनलसम्म पुग्ने योजना रहेको उनको भनाइ छ ।
त्यस्तै, एनआरटीका प्रशिक्षक श्याम मालीले अनपेक्षित हारले पहिलो खेलबाटै बाहिरिएकोले टिमको नाममा असर पुगेको बताए । धेरै प्रतियोगिताका कारण पहिलो रोजाईका खेलाडीहरूलाई ल्याउन नसक्दा नतिजा पक्षमा नआएको उनको भनाइ छ ।
सौर्य एअर ओम साई पाथिभरा हस्पिटल गम्भीर राई स्मृति संस्करण अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताअन्तर्गत सोमबारको अन्तिम क्वार्टर फाइनल खेल सशस्त्र प्रहरीको एपिएफ एफसी र ट्रान्सपोर्ट युनाइटेड एफसी भुटानबीच हुने गोल्डकपका सचिव तीर्थराज ढकालले जानकारी दिए ।
गोल्डकपको विजेताले नगद १३ लाख, आकर्षक ट्रफी र मेडल र उपविजेताले नगद ७ लाख, ट्रफी र मेडल प्राप्त गर्ने अध्यक्ष दिपेश ढकालले बताए । प्रतियोगिताभरिको सर्वोत्कृष्ट खेलाडी प्लेयर अफ द टुर्नामेन्टले नगद एक लाख पाँच हजार रुपैयाँ पाउनेछ ।
त्यस्तै, उत्कृष्ट गोलकिपर, उच्च गोलकर्ता, उदीयमान खेलाडी र प्रशिक्षकले नगद २५ हजार पाउने महासचिव जीवनकुमार श्रेष्ठले बताए । प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई नगद २१ हजार रुपैयाँ दिइनेछ ।
एकजना दर्शकले महेन्द्ररत्न स्टोर बिर्तामोडका तर्फबाट एक थान हिमस्टार टिभी, एयरपोर्ट होटलका तर्फबाट एकजना दर्शकले दुईजनाको डिनर र सुनचाँदी व्यवसायी संघ भद्रपुर शाखाको तर्फबाट दुईवटा चाँदीको सिक्का पाए ।