भद्रपुर । 

ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेडमाथि कठिन जित निकाल्दै झापा ११ एफसी भद्रपुर झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको दोस्रो क्वार्टर फाइनल खेलमा झापा ११ ले चर्च ब्वाइजलाई २–१ गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । झापाले यसअघि पहिलो चरणमा मछिन्द्र एफसीलाई हराएको थियो ।

आज खचाखच दर्शक भएको रंगशालामा पहिलो हाफ १–१ गोलको बराबरीमा टुंगिएको थियो । खेलको १४ औँ मिनेटमा झापाका एरोन थापाले गोल गर्दै टिमलाई अग्रता दिलाए ।  चर्च ब्वाइजका किपर कृसल मोक्तान अगाडि बढेको अवस्थामा थापाले मैदानको मध्य भागबाट लगेको बललाई जाली चुमाए ।

खेलको ४१ औँ मिनेटमा चर्च ब्वाइजका विक्रम धिमालले गोल गर्दै खेललाई बराबरीमा ल्याए । झापाका प्रदिप बुढाथोकीले चर्चका सुजन डंगोललाई फाउल गरे । त्यसपछि एरिक विष्टको फ्रिकिक प्रहारलाई सदुपयोग गरी धिमालले गोल गरेका थिए ।

खेलको ७९ औँ मिनेटमा झापाका कप्तान पेमा तामाङले टिमका लागि थप एक गोल गरे । चर्चका गोलकिपर मोक्तानले पञ्च गरेको बल किलियर नहुँदा तामाङले टिमलाई २–१ को अवस्थामा ल्याए । घरेलु दर्शकको समर्थन रहेको झापाले गोल गर्ने केही अवसरहरू गुमाएको थियो । खेलको २४ औँ मिनेटमा प्रदिप बुढाथोकीको पेनाल्टी एरियाको हेडर चर्चका किपर मोक्तानले नियन्त्रणमा लिए ।

खेलको ३२ औँ मिनेटमा एरोन थापाले पेनाल्टी एरिया नजिकैबाट गरेको प्रहार किपर मोक्तान रोके । पहिलो हाफको अतिरिक्त समयमा एरोनको कर्नर किकमा सुमन मगरको हेडेर क्रसबार माथिबाट बाहिरियो । खेलको ३७ औँ मिनेटमा चर्चका प्रशान्त लक्समले पेनाल्टी एरियाबाट गरेको प्रहार झापाका गोलकिपर सन्दिप लिम्बूले रोके । खेलको ३१ औँ मिनेटमा उमेश राईको प्रहार गोलकिपर लिम्बूले बचाउ गरे । खेलको प्लेयर अफ द म्याच झापा ११ का पेमा तामाङ भए । उनले नगद २१ हजार र ट्रफी पाए ।

खेलपछि भएको पोस्ट म्याच कन्फ्रेन्समा झापाका प्रशिक्षक अंगुरकुमार खड्गीले पछिल्लो समय एउटै टिमवर्कका कारण ए डिभिजन टिमसँग प्रतिस्पर्धा गर्न सहज भएको बताए । खेलाडीको उत्कृष्ट प्रदर्शनले लगातार दुई खेलमा जित हात पारेको बताउँदै उनले भने, ’खेलमा तलमाथि हुन्छ, रेफ्रीले पनि सोहीबमोजिम सही डिसिजन दिनुपर्छ ।

त्यस्तै, चर्च ब्वाइजका व्यवस्थापक सविन डाँगीले मोफलसमा प्रतियोगिता जुधेर समस्या आएको बताए । उनले क्लबको मुख्य टिम अहिले हेडौँटामा रहेकाले सबै खेलाडी यहाँ ल्याउन नसक्दा हार व्यहोर्नु परेको बताए ।

सौर्य एअर ओम साई पाथिभरा हस्पिटल गम्भीर राई स्मृति संस्करण अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताअन्तर्गत आइतबारको तेस्रो क्वार्टर फाइनल खेल न्यु रोड टिम ९एनआरटी० र बंगलादेशको काउरन बाजार प्रगति संघबीच हुने गोल्डकपका सचिव तीर्थराज ढकालले जानकारी दिए ।

गोल्डकपको विजेताले नगद १३ लाख, आकर्षक ट्रफी र मेडल र उपविजेताले नगद ७ लाख, ट्रफी र मेडल प्राप्त गर्ने अध्यक्ष दिपेश ढकालले बताए । प्रतियोगिताभरिको सर्वोत्कृष्ट खेलाडी प्लेयर अफ द टुर्नामेन्टले नगद एक लाख पाँच हजार रुपैयाँ पाउनेछ ।

त्यस्तै, उत्कृष्ट गोलकिपर, उच्च गोलकर्ता, उदीयमान खेलाडी र प्रशिक्षकले नगद २५ हजार पाउने महासचिव जीवनकुमार श्रेष्ठले बताए । प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई नगद २१ हजार रुपैयाँ दिइनेछ ।

एकजना दर्शकले महेन्द्ररत्न स्टोर बिर्तामोडका तर्फबाट एक थान हिमस्टार टिभी, एयरपोर्ट होटलका तर्फबाट एकजना दर्शकले दुईजनाको डिनर र सुनचाँदी व्यवसायी संघ भद्रपुर शाखाको तर्फबाट दुईवटा चाँदीको सिक्का पाए ।