झिलझिले।
शिवसताक्षी नगरपालिकामा १५ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता एक भव्य समारोहका बीच उद्घाटन भएको छ । शनिवार देखि सुरु भएको यो प्रतियोगिता सोमबार समापन हुनेछ ।
नगर प्रमुख मेघाहाङ थोप्राले पानसमा दीप प्रज्वलन गरेर प्रतियोगिताको औपचारिक रूपमा उद्घाटन गरेका हुन् । खेलकुदको प्रवद्र्धन गर्दै विद्यार्थीहरूलाई प्रतिस्पर्धात्मक क्षमताको विकास गराउने उद्देश्यले नगरस्तरीय खेलकुद प्रतियोगिता आयोजना गरिएको हो । यद्धपी जिल्लाका अन्य पालिकामा यस अघिनै यो प्रतियोगिता सम्पन्न भईसकेका छन् ।
नगरका सामुदायिक तथा संस्थागत विद्यालयहरूको सहभागितामा आयोजना गरिएको प्रतियोगितामा २१ विद्यालयका ७ सय ५७ विद्यार्थी प्रतिस्पर्धा गरिरहेको शिक्षा साखा प्रमुख छवि ढकालले बताए । यो प्रतियोगिता जनआदर्श माध्यमिक विद्यालयको प्राङ्गणमा सञ्चालन भइरहेको छ । यस अघि वडा नम्बर ७ को भगवती माद्यमिक विद्यालयमा १४ औ राष्ट्रपति शिल्ड प्रतियोगिता भएको भएको थियो ।
नगर प्रमुख थोप्राले विद्यालयस्तरीय खेलकुद प्रतियोगिताले विद्यार्थीहरूलाई अनुशासन, नैतिकता तथा आत्मविश्वास बढाउन मद्दत गर्ने बताए । उनले आगामी वर्ष यो प्रतियोगिता दुधे रंगशालामा आयोजना गरिने जानकारी समेत दिए ।
कार्यक्रम सामाजिक विकास समितिका अध्यक्ष हर्क सिगुको अध्यक्षतामा उद्घाटन भएको थियो । जनआदर्श माध्यमिक विद्यालयका प्रधानाध्यापक तुलसी प्रसाद अधिकारीले स्वागत मन्तव्य राखेका थिए भने शिवसताक्षी नगर प्याव्सनका अध्यक्ष राम सुहाङले कार्यक्रमको सहजीकरण गरेका थिए ।
प्रतियोगितामा कबड्डी, भलिबल, एथलेटिक्स, करातेजस्ता विधाका खेलहरू समावेश छन् । खेलकुद प्रतियोगिताले विद्यार्थीहरूमा शारीरिक स्फूर्ति, अनुशासन तथा खेल भावना विकास गर्ने विश्वास गरिएको छ । नगर प्रमुख थोप्राले आगामी वर्षहरूमा पनि यस्ता खेलकुद कार्यक्रमलाई थप व्यवस्थापन गर्दे निरन्तरता दिने प्रतिबद्धता जनाए ।
कार्यक्रममा राष्ट्रिय रमणीय आदर्श माद्यमिक विद्यालय दुधे, झिलझिले माद्यमिक विद्यालय झिलझिले, मेची अङग्रेजी माद्यमिक विद्यालय माईधार र जनआदर्श माद्यमिक विद्यालय शिवगञ्जका छात्र छात्राले स्वागत नृत्य प्रस्तुत गरेका थिए ।
नगर प्रमुख सहित विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक प्रतिनिधिहरू, खेलाडीहरू, शिक्षक तथा अभिभावकहरूको उपस्थितिमा सम्पन्न कार्यक्रम उत्साहजनक बनेको सहभागि शिक्षकले बताएका छन् । विद्यार्थी खेलाडीहरू आफ्नो उत्कृष्ट प्रदर्शन गर्ने प्रयासमा छन् भने विद्यालयहरूले प्रतिस्पर्धात्मक भावना देखाएका छन् । आयोजकका अनुसार प्रतियोगिताका विजेताहरूलाई विशेष सम्मान तथा पुरस्कार प्रदान गरिनेछ । यो प्रतियोगिता शिवसताक्षी नगरपालिकाको आयोजनामा भएको हो ।