हल्दीबारी । 

झापाको हल्दीबारीमा स्व. जगतबहादुर नरमाया वन स्मृति प्रतिष्ठानले आयोजना गरेको प्रथम वडा स्तरीय नकआउट फुटबल प्रतियोगिताको उद्घाटन खेलमा हल्दीबारी वडा नम्बर २ र ५ बिजयी भएका छन् । 

हल्दीबारी वडा नं. २ बिजयीसँगै फाइनलमा प्रवेश गरेको छ । आज (शुक्रवार) हल्दीबारी–२ स्थित हल्दीबारी माध्यमिक बिद्यालयको खेलमैदानमा भएको उद्घाटन खेलको पहिलो खेलमा हल्दीबारी– ३ र ५ बिच प्रतिस्पर्धा भएको थियो । हल्दीबारी ५ ले ३ लाई ३–१ को गोल अन्तर गर्दै सेमी फाइनलमा प्रवेश गरेको छ । ५ ले भोली वडा नम्बर १ सँग सेमिफाइनल खेल्नेछ ।  दोस्रो खेलमा वडा नम्बर २ ले ४ लाई १–० को गोल अन्तर गर्दै फाइनलमा पुगेको छ । 

ban2 1

सेमी फाइनलबाट बिजयी टिमले वडा नं. २ सँग भोलि फाइनलमा भिड्ने खेल संयोजक तथा हल्दीबारी–४ का वडाध्यक्ष सन्तोषकुमार थापाले जानकारी दिए ।  प्रतियोगितामा २ गोल गर्ने वडा नम्बर ५ का जलन खवास म्यान अफ द म्याच घोषित भए भने आजको दोस्रो खेलमा वडा नम्बर २ का गोलकिपर समिर लिम्बु म्यान अफ द म्याच भए ।  

प्रतिष्ठानले पहिलो पटक फागुन ९ र १० गते २ दिने प्रथम वडा स्तरीय नकआउट फुटबल प्रतियोगिता आयोजना गरेको हो । खेलका बिजेताले नगद १५ हजार, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उप–बिजेता टिमले नगद १० हजारसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । 

प्रतिष्ठानका संरक्षक तथा अधिवत्ता डम्बर बनको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा हल्दीबारी गाउँपालिकाका अध्यक्ष रबिन्द्रप्रसाद लिङ्देनको प्रमुख आतिथ्य रहेको थियो । स्वागत हल्दिबारी माविका प्रधानाध्यापक टंकबहादुर पाख्रिनले गरेको कार्यक्रममा औचित्यमाथि प्रकाश प्रतिष्ठानका संरक्षक तथा हल्दीबारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर बन (महेन्द्र) ले पारेका थिए । 

कार्यक्रममा प्रमुख अतिथि लिङ्देन र बिशिष्ठ अतिथि प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारीले बन परिवारले आफ्ना स्व. मातापिताको नाममा प्रतिष्ठान स्थापना गरी फुटवल प्रतियोगिता आयोजना गरेर उदारणीय कार्य गरेको भन्दै प्रशंसा गरे । कार्यक्रमको सञ्चालन हल्दिबारी माविका सह–प्रधानाध्यापक तुलसीप्रसाद कोइरालालले गरेका थिए । 

प्रतिष्ठानले हल्दिबारी माविका एक लाख ११ हजार १०० रुपैयाँको अक्षयकोष स्थापना गरी मुटु रोगी बिद्यार्थीहरुलाई सहयोग गर्दै आएको छ । २ दिनसम्म सञ्चालन हुने प्रतियोगिताको ब्यवस्थापन हल्दीबारी माबिले गरेको छ । प्रतियोगिता सम्पन्न गर्न अनुमानित २ लाख रुपैयाँ खर्च हुने र उक्त रकम बन परिवारले प्रदान गर्ने प्रतिष्ठानका संरक्षक महेन्द्रले बताए । उद्घाटन कार्यक्रममा सांस्कृतिक कार्यक्रम पनि गरिएको थियो । 

कार्यक्रममा हल्दीबारी गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मीदेबी मैनाली, नेपाल प्रहरीका एसपी मिलन केसी, सशस्त्र प्रहरीका एसपी तुलाराम भण्डारी, प्रतिष्ठानका संस्थापक सत्यरुपा बन, सदस्य नरबहादुर बन, वडाध्यक्षहरु, वडा सदस्यहरु तथा जनप्रतिनिधिहरु, स्थानीय संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, खेलप्रेमीलगायतको उपस्थिति रहेको थियो ।