बुट्टाबारी ।
स्थानीय फुटवल खेल क्षेत्रको विकास र खेलाडी उत्पादनका लागि प्रतियोगिता सञ्चालन गर्दै आएको झापाको बिर्तामोड–६ को बुट्टाबारी युनाइटेड क्लबले तेस्रो ‘बुट्टाबारी च्यालेन्ज कप २०८१’ गर्ने भएको छ ।
क्लवले आगामी फागुन २० गतेदेखि २७ गतेसम्म कोशी प्रदेश स्तरीय तेस्रो बुट्टाबारी च्यालेन्ज कप नक–आउट फुटवल प्रतियोगिता २०८१ आयोजना गरेको हो । क्लवले आज (बिहीवार) हरियाली खेल मैदानमा पत्रकार सम्मेलन गरी प्रतयिोगिताको तयारीका बारेमा जानकारी दिएको थियो ।
प्रतियोगितामा गाइघाट युनाइटेड, विराटनगर सिटी, न्यू स्टार क्लब सुनसरी, रेडहर्ष फुटवल कनव इलाम, लेटाङ फुटवल क्लव, र झापाका तीन वटा टिम सहभागी हुने आयोजक बुट्टाबारी युनाइटेड क्लबका अध्यक्ष हिमाल कन्दङ्वाले बताए ।
प्रतियोगिताको बिजेताले २ लाख २ हजार २ सय २२ रुपैयाँ र उप–बिजेताले एक लाख एक हजार एक सय ११ रुपैयाँसहित ट्रफि, मेडल र प्रमाणपत्र पाउने अध्यक्ष कन्दङ्वाले जानकारी दिए । प्रत्येक खेलको उत्कृष्ट खेलाडीलाई नगद ३ हजार पुरस्कार दिइनेछ ।
यस्तै बेष्ट प्लेयर १५ हजार, हाई स्कोरर १० हजार, राइजिङ प्लेयर १० हजार, वेष्ट गोल किपर १० हजार नगद पुरस्कारसहित ट्रफी मेडल, प्रमाणपत्र साथै अन्य पुरस्कारहरु प्रदान गरिने आयोजकले जनाएको छ ।
प्रतियोगिता सम्पन्न गर्न अनुमानित १९ लाख ५० हजार रुपैयाँ खर्च हुने र बिर्तामोड नगर, बिर्तामोड–६ वडा कार्यालयसहित संघसंस्था, खेलप्रेमी ब्यक्तित्वहरुको सहयोग रहने बताइएको छ । दोस्रो पुरस्कार कनकाई हस्पिटल बिर्तामोडले उपलब्ध गराउने अध्यक्ष कन्दङ्वाले बताए ।
क्लवका अध्यक्ष कन्दङ्वाको अध्यक्षतामा भएका पत्रकार सम्मेलनमा बिर्तामोड–६ का वडाध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि सूर्वप्रसाद कन्दङ्वा, झापा जिल्ला फुटवल संघका अध्यक्ष भगीरथ आले (मामा) लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
स्वागत क्लवका बरिष्ठ उपाध्यक्ष मरिचमान राईले गरेको कार्यक्रमको सञ्चालन सचिव रबिन राईले गरेका थिए । कार्यक्रममा वडा सदस्य जीवन बास्कोटा, गीता रेग्मी, क्लवका सल्लाहकार आशिष बनलगायतको आतिथ्य रहेको थियो ।