बिर्तामोड ।
झापाको बिर्तामोडमा जारी प्रथम अन्तर पालिकास्तरीय महिला फुटबल प्रतियोगिताको फाइनल भोलि (सोमवार) हुने भएको छ । माघ २६ देखि शुरु भएको प्रतियोगिताको फाइनलमा अर्जुनधारा र कनकाई नगरपालिकाबिच भिडन्त हुने भएको छ ।
बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा भोलि (सोमवार) उनीहरुबिच प्रतिस्पर्धा हुने आज (आइतवार) पूर्व सन्ध्यामा पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो । प्रतियोगिता बिर्तामोड नगर खेलकुद विकास समितिले आयोजना गरेको हो ।
कनकाई नगरपालिकाका कोच सन्तोष रायमाझीले बिर्तामोड नगर खेलकुद विकास समितिले सवै भन्दा ठूलो पुरस्कार राशीको महिला फुटवल प्रतियोगिता गरेकोमा धन्यवाद दिए । उनले कनकाई र अर्जुनधाराका दुवै खेलाडी उत्कृष्ट रहेको बताउँदै जुन टिमले जिते पनि झापाकै जित हुने बताए । ‘जित्ने दावी भन्दा पनि प्रतियोगिता हुनु नै राम्रो हो’ उनले भने ‘प्रतियोगितासँगै खेलाडीलाई प्रोत्साहन गर्नुपर्छ ।’
यता अर्जुनधारा नगरका कोच पुष्प मादेनले आफ्नो टिम उत्कृष्ट रहेको तर, कनकाईको टिम पनि कमजोर नभएको बताए । उनले पनि जितहार जे भएपनि प्रतियोगिता हुनु नै ठूलो कुरा भएको बताए ।
पत्रकार सम्मेलनमा अर्जुनधारा नगरका लागि कप्तान जेनिफर रानामगर, कनकाई नगरका लागि खुश्मा राई, म्याच कमिस्नार तथा बिर्तामोड नगर खेलकुद विकास समिति उपाध्यक्ष सन्तोष गुरुङलगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन आशा गुरुङले गरेकी थिइन् ।
फाइनलमा विजेता टोलीले नगद तीन लाखसहित आकर्षक ट्रफी पाउने छ भने उप–विजेताले नगद एक लाख ५० हजार प्राप्त गर्नेछ । फाइनल खेलमा बिभिन्न बिधागत पुरस्कारसमेत प्रदान गरिने बिर्तामोड नगर खेलकुद विकास समितिका अध्यक्ष विकास गिरीले जानकारी दिए ।