बिर्तामोड ।
भयावह बन्दै गरेको क्यान्सर रोगको उपचारलाई सहज बनाउने लक्ष्यका साथ झापाको पूर्वाञ्चल क्यान्सर अस्पताले तीन दिने ‘पूर्वाञ्चल क्यान्सर सम्मेलन’ शुरु गरेको छ ।
पूर्वाञ्चल क्यान्सर अस्पतालको आयोजनामा हुने सम्मेलनमा सार्कका सात देशका ३ सय ५० जना डाक्टरहरुको सहभागिता रहने अस्पातलले आज (शुक्रवार) बिर्तामोडमा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।
आज बिर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर अस्पतालबाट शुरु भएको सम्मेलन शनिवार र आइतवार मेचीनगरको मेची क्राउनमा विशेष छलफल गरिने अस्पतालका जनसम्पर्क अधिकारी प्रमिश गिरीले जानकारी दिए ।
उक्त सम्मेलनमा क्यान्सर उपचारमा संलग्न एक सय जना विशेषज्ञ चिकित्सकहरुले प्रस्तुत गर्ने कार्यपत्रमाथि व्यापक छलफल हुने अस्पतालका मेडिकल डाइरेक्टर तथा सम्मेलनका संयोजक डा. वीरेन्द्र यादवले बताएका छन् ।
दुई वर्षअघि पूर्वाञ्चल क्यान्सर अस्पतालले नै पहिलोपटक सम्मेलनको आयोजना गरेको थियो । सम्मेलनमा स्तन र जीआई क्यान्सरका विषयमा बिशेष छलफल हुनेछ ।
कार्यक्रममा सार्क फेडेरेसन अफ अंकोलोजिस्ट नेपालका संस्थापक अध्यक्ष प्राडा मदनकुमार पियाले पाठेघर भन्दा अहिले स्तन क्यान्सरको समस्या वढी देखिएको बताए । डा. राजेन्द्र बरालले क्यान्सर रोगीले अन्य मुलुकमा भन्दा सस्तो र राम्रो उपचार पाउने गरेको बताए । उनका अनुसार गुगल र पढाइभन्दा क्यान्सर रोगका लागि सम्मेलन महत्वपूर्ण हुने बताएका छन् ।