बिर्तामोड ।
किशोरीहरुको लागि पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘एचपिभी’ खोप अभियान बिर्तामोडमा धमाधम सञ्चालन भईरहेको छ ।विद्यालय र विद्यालय बाहिरका किशोरीहरुका लागि माघ २२ गतेदेखि सुरु भएको यस अभियानमा खोपकर्मी र स्वयमसेवक गरि १०४ जना जनशक्ति खटिएको नगरको स्वास्थ्य शाखाले जनाएको छ ।
![](/uploads/advertise/faktalung_1739439957.jpeg)
माघ २७ गतेसम्म सञ्चालन हुने यस अभियानमा आज (शुक्रबार) सम्मको तथ्याङ्क अनुसार ७५ प्रतिशत खोप लगाईसकिएको बिर्तामोड नगर अस्पतालका जनस्वास्थ्य निरिक्षक तथा कार्यक्रमका फोकल पर्सन गणेश रिजालले जानकारी दिए ।
बिर्तामोडमा बिद्यालयका ६ हजार ४३३ र बाहिरका १ हजार १३९ गरि कुल ७ हजार ५७२ जनालाई खोप लगाईने नगरका स्वास्थ्य शाखाका प्रमुख राजिब बिष्टले जानकारी दिए। यसका लागि विद्यालयमा ५७ र स्वास्थ्य संस्थामा ११ वटा गरि ६८ वटा खोप केन्द्र स्थापना गरेको जनाईएको छ ।
सरकारको कार्यक्रम अनुसार विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्म र बाहिर रहेका १० बर्षदेखि १४ वर्षसम्मका किशोरीलाई ‘एचपिभी’ खोप लगाउने कार्य सञ्चालन भईरहेको हो । स्वास्थ्य केन्द्रमा कुनै कारणले खोप लगाउन छुटेकाहरुलाई माघ २७ गते १० वटै वडामा रहेका स्वास्थ्य संस्थामा लगाईने स्वास्थ्य शाखा प्रमुख बिस्टले जानकारी दिए।
बिर्तामोड नगरपालिकाकी नगर प्रमुख पवित्रा महतारा प्रसाईले लक्षित समुहले खोप अनिबार्य लगाउन आग्रह गरिन्। उनले अभियान सफल बनाउन जनप्रतिनिधि, कर्मचारी सबै लाग्नु पर्ने बताइन् ।