बिर्तामोड । 

झापाको बिर्तामोड–१ एडभान्स पेन स्पेशलिस्ट क्लिनिक सञ्चालनमा आउने भएको छ ।कोशी प्रदेशमै पहिलो पटक सञ्चालनमा आउन लागेको क्लिनिक मानव शरिरको दुखाइ सम्बन्धी समस्याको उपचार गरिने बताइएको छ । 

झापाका प्रसिद्ध डाक्टरहरू निरु नेपाल, पुष्पक रेग्मी र मुस्कान श्रेष्ठले संयुक्त रुपमा उक्त क्लिनिक सञ्चालनमा ल्याउने भएका छन् । क्लिनिकका तर्फबाट आज (बिहीवार) बिर्तामोडमा पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो ।  आगामी माघ २६ गते शनिवार क्लिनिकको विधिवत रूपमा उद्घाटन गरिने जानकारी पत्रकार सम्मेलनमा जानकारी दिइयो । 

कोशी प्रदेशमै पहिलो पटक सञ्चालनमा आउने यस क्लिनिकबाट विभिन्न प्रकारका दुखाइ समस्याहरूको न्यूनिकरण तथा निवारण गरिनेछ । क्लिनिकमा क्यान्सरको दुखाइ, पुच्छरको हड्डी दुख्ने (कोक्सिक्स), मधुमेह न्यूरोपैथी, अनुहार दुखाइ, पछाडिको शल्यक्रिया असफल भएमा, ढाड दुखाइ, माइग्रेन, न्यूरोपैथिक दुखाइ, प्रेत अंग दुखाइ, पोस्ट हर्पेटिक न्यूराल्जिया, साइटिका तथा खेलकुदका चोटलगायतको उपचार गरिनेछ ।

सञ्चालक डा. पुष्पकका अनुसार, दुखाइ समस्या भएका धेरै मानिसहरूले सही उपचार नपाएर लामो समयसम्म समस्या झेल्नु परेको छ । उपचारको बहानामा अनावश्यक रूपमा धेरै पैसा खर्चिनु परेको अवस्था भएकाले त्यस्तो विकृतिको अन्त्य गर्दै रोगको सही पहिचानपछि मात्र उपचार गरिने उनले बताए । उक्त क्लिनिक सञ्चालनसँगै विरामीहरूले सही र प्रभावकारी उपचार पाउने डा. रेग्मीले विश्वास दिलाए । 

डा. निरु नेपालका अनुसार जीवनको गुणस्तर सुधार गर्न विशेष हेरचाह, शिक्षा, जागरूकता प्रदान गर्दै मिथकहरूको पर्दाफास गर्ने उद्देश्यले क्लिनिक सञ्चालनमा ल्याइएको हो । डाक्टर मुस्कान श्रेष्ठले क्लिनिकमा फिजियोथेरापी, मनोवैज्ञानिक परामर्श, औषधि सेवनको न्यूनिकरण, रोकथाम तथा हेरचाह सेवाहरूलाई उच्चतम प्रभावकारी बनाइने जानकारी दिए । पत्रकार सम्मलेनकै बिच झापाली पत्रकारहरुसँग अन्तरक्रियात्मक कार्यक्रमसमेत गरिएको छ ।