बिर्तामोड । 

सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले १४ औं स्थापना दिवसको अवसरमा झापाका दुई वटा र पाँचथरको एक वटा सामुदायिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ ।

झापाको बिर्तामोड–४ मा मुख्य कार्यालय रहेको संस्थाले स्थापना दिवसको अवसरमा आज (बिहीवार) बिर्तामोड–६ बुट्टाबारीको सरस्वती माध्यमिक विद्यालय, भद्रपुर नगरपालिकास्थित महेशपुर आधारभूत विद्यालय र पाँचथरको फिदिम नगरपालिका–४ को सिद्धकाली आधारभूत विद्यालयका सबै विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको हो । 

सरस्वती माविका कक्षा–१ देखि ७ सम्मका १ सय ६२ जना र  महेशपुर आविका कक्षा–१ देखि ५ का १ सय विद्यार्थीलाई ब्याग बितरण गरेको छ । यसैगरी पाँचथरको फिदिम–४ को सिद्धकाली आविका सबै विद्यार्थीलाई स्वीटर वितरण गरेको हो ।

संस्थाका अध्यक्ष सुवास भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा बिर्तामोड नगरपालिकाकी नगर प्रमुख पवित्रा महतरा प्रसाईंको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि प्रसाईंले सबै क्षेत्रमा सरकार पुग्न नसक्ने बताउँदै यस्ता प्रकारको सहयोगले अभिभावक, विद्यार्थीलाई मात्र नभई स्थानीय सरकारलाई समेत मद्दत मिल्ने बताइन् । सिम्रिकले बालबालिकादेखि बृद्धासम्मलाई समेटेर विभिन्न कार्यक्रम सञ्चालन गरेकामा उनले धन्यवाद ब्यक्त गरिन् । 

सामाजिक उत्तरदायित्वबहन गर्दै सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि केही हदसम्म सहयोग पु¥याउने उद्देश्यले विगत वर्षदेखि नै शैक्षिक सामग्र वितरण गरिँदै आएको संस्थाका कार्यकारी प्रमुख कमलबहादुर बस्नेतले जानकारी दिए । कारोबारका आधारमा सिम्रिक मुलुकको १० औं र झापाको चौथो ठूलो सहकारी सहकारी भएको उनलको भनाई छ । उनका अनुसार संस्थाले आर्जन गर्ने नाफाको ५ प्रतिशत रकम सामाजिक उत्तरदायित्वको क्षेत्रमा खर्च गर्दै आएको छ ।

स्थापना दिवसलाई रचनात्मक तवरले मनाउन विद्यालयमा शैक्षिक सामग्री वितरण गरिएको संस्थाका अध्यक्ष भट्टराईले बताए । बर्सेनि ८–१० हजार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्दै आएको  बताउँदै यस वर्ष नौ हजार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको अध्यक्ष भट्टराई जानकारी दिए । 

कार्यक्रममा स्वागत गर्दै सरस्वती माध्यमिक विद्यालयका प्रधानाध्यापक दिपक लुइँटलले विपन्न वर्गका बालबालिकाले व्याग पाउँदा उनीहरुलाई पठनपाठनमा सहज भएको बताए । सामुदायिक विद्यालयलाई सरकारले उचित ध्यान नदिएको गुनासो गर्दै उनले संस्थागत सहयोगबाट शैक्षिक गुणस्तर सुधारमा सहयोग मिलेको बताए ।

कार्यक्रममा वडा सदस्य खेम अधिकारी, विद्यालय व्यवस्थापन समिति अध्यक्ष कैलाश कन्दङ्वा, मसाले कृषि सहकारीका अध्यक्ष तेजबहादुर कन्दङ्वा लगायतले विद्यार्थीलाई ब्याग वितरण गरेका थिए । कार्यक्रमको सञ्चालन संस्थाका विभागीय प्रमुख विजय बस्नेतले गरेका थिए । 

यस्तै भद्रपुरको महेशपुरमा आधारभूत विद्यालयमा भद्रपुर नगरपालिकाका नगरप्रमुख गणेश पोखरेलेको प्रमुख आतिथ्यमा एक सय विद्यार्थीलाई ब्याग वितरण गरिएको छ  भने संस्थाको फिदिम सेवा केन्द्रले पाँचथरको फिदिम नगरपालिका–४ को सिद्धकाली आविका सबै विद्यार्थीलाई स्वीटर वितरण गरेको संस्थाले जनाएको छ ।