झापा । 

सरकारले आजदेखि झापासहित देशभर एचपीभी खोप अभियान शुरु गरेको छ । यो अभियान १५ दिन अर्थात् फागुन ६ गतेसम्म जारी रहनेछ । झापाका १५ वटै पालिकाले पनि आजदेखि एचपीभी खोप अभियान शुरु गर्दैछन् । 

कोशी प्रदेशका कक्षा ६ देखि १० सम्मका २ लाख २० हजार ५८४ र बिद्यालय नजाने १० देखि १४ बर्ष समुहका ४५ हजार ३३४ जना किशोरीहरु गरी जम्मा २ लाख ६५ हजार ९१८ जना किशोरीलाई  एचपीभी खोप लगाइदैछ । 

अभियानमा विद्यालयका कक्षा ६ देखि १० सम्मका र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका १६ लाख ८८ हजार ७६८ किशोरीलाई खोप दिइनेछ । स्वास्थ्य सेवा विभाग अन्तर्गतका बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमका अनुसार १८ हजार विद्यालय र ८ हजार स्वास्थ्य संस्थामा खोप केन्द्रको रूपमा तोकिएको छ । 

यसका लागि २७ हजार स्वास्थ्यकर्मी र ५४ हजार स्वयंसेवक परिचालन गरिएको छ । सरकारले १ अर्ब ३० करोड रुपैयाँ लगानी गरी १७ लाख ७० हजार २० डोज खोप लगाउँदै छ । 

यो खोप सन् २०३० सम्ममा कम्तीमा पनि ९० प्रतिशत किशोरीलाई लगाउने लक्ष्य लिइएको छ । सन् २०३० सम्ममा पाठेघर मुखको क्यान्सर निर्मूल पार्न ९०ः९०ः९० को योजना छ । यो भनेको ९० प्रतिशतलाई खोप लगाउने, ९० प्रतिशतको स्क्रिनिङ गर्ने र ९० प्रतिशतको सफल उपचार गरिने सरकारी बताइएको छ  ।  फाइल तस्वीर