सुरुङ्गा । 

झापाको कनकाई नगरपालिकाले तीन हजार ९९ जना किशोरीलाई पाठेघरको मुखको क्यान्सर रोग विरूद्वको एचपीभी खोप लगाउने भएको छ । आगामी  माघ २२ गतेबाट २८ गतेसम्म सञ्चालन हुने एचपीभी खोप अभियान अन्तरगत किशोरीहरुलाई खोप लगाउन लागिएको हो । 

कनकाई नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा आज (शनिवार) नगरपालिकाको सभाहलमा भएको पालिका खोप समन्वय समिति, सञ्चारकर्मी र सरोकारवालाहरुसँगको अन्तरक्रिया तथा अभिमूखिकरण कार्यक्रममा एचपीभी खोप बारे जानकारी दिइएको थियो । स्वास्थ्य कार्यालय झापाको समन्वयमा कनकाई नगरमा रहेका लक्षित किशोरीहरुलाई खोप लगाइने भएको हो । 

लक्षित समूह विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका २ हजार ६२१ जना र बिद्यालयका बाहिरका लक्षित उमेर समुह १० देखि १४ वर्ष सम्मका  किशोरीहरूलाई खोप लगाइने कनकाई नगरका जनस्वास्थ्य अधिकृत केशव रिजालले जानकारी दिए ।

माघ २२ गते विश्व क्यान्सर दिवसको अवसरमा झापाका सबै पालिकासहित देशभर एकै पटक किशोरीहरूलाई खोप लगाउने अभियान सञ्चालन गरिन लागेको उनले बताएका छन् । खोपका लागि ३९ खोप केन्द्रमा  स्वास्थ्यकर्मी,  स्वयम सेवक र  सुपरिवेक्षक गरि दुई सय खटाइने रिजालले बताए । 

एक डोज खोपले वयस्क उमेरमा देखा पर्ने पाठेघरको मुखको क्यान्सर रोग रोकथाम गर्न सकिने उनको भनाई छ । पाठेघरको मुखको क्यान्सर महिलाहरूलाई लाग्ने क्यान्सरमा विश्वमा चौथो तथा नेपालमा दोस्रो स्थानमा पर्ने तथ्याङ्क रहेको छ । पाठेघरको मुखको क्यान्सरले मृत्यु हुने क्यान्सर पहिलो नम्बरमा छ । यो रोगको लक्षणहरूमा तल्लो पेट दुख्ने, योनीबाट गन्हाउने पानी बग्ने, अनियमित रूपमा रगत बग्ने, कमजोरी महसुस हुने, रक्त अल्पता हुने लगायत रहेका छन् ।

यो खोपबाट सामान्य दुखाइ, सुई लगाएको ठाउँमा सुन्निने वा हल्का ज्वरो आउनेबाहेक  बालिकाहरुमा अरू कुनै असर नगर्ने कार्यक्रमका फोकल पर्सन तथा नगरका जनस्वास्थ्य निरिक्षक नारायण अधिकारीले जानकारी दिए । खोप सुरक्षित भएकाले ढुक्क भएर आफ्ना बालिकालाई लगाउन नगर प्रमुख पोखरेलले सवैमा आग्रह गरेका छन् । 

खोप समन्वय समितिका संयोजक तथा कनकाई नगरपालिकाका नगर  प्रमुख  राजेन्द्रकुमार  पोखरेलको अध्यक्षतामा भएको अभिमुखीकरण कार्यक्रममा कनकाई नगर जनस्वास्थ्य निरीक्षक  तथा खोपका फोकल प्रर्सन  नारान अधिकारीले स्वागत गरेका थिए ।  कार्यक्रममा कनकाई ५ का वडाध्यक्ष तथा नगरका प्रवक्ता कृष्णबहादुर राई, कनकाई सुरुङ्गा प्रेस क्लबका अध्यक्ष लीलाराज झापालीलगायतले उक्त खोप कार्यक्रम एकदमै राम्रो भएकाले साथ र सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गरेका छन् । 

कार्यक्रममा उपप्रमुख आशाशर्मा शिवाकोटी, वडा अध्यक्षहरू वलराम राई(प्रताप) युवराज चौलागाईं, रोशन सुवेदी, कृष्णबहादुर राई,  भिस्मभुषण सिटौला, कार्यपालिका सदस्य, वडा सदस्य, महिला बालबालिका शाखा प्रमुख टीका खतिवडा, अधिकारकर्मी  शान्ता पोखरेल,  नगर बाल सन्जालका अध्यक्ष विजय तिवारी, नगरका कर्मचारीलगायत उपस्थिति रहेको थियो ।  कार्यक्रमको सहजीकरण नगर स्वास्थ्य शाखाकी सिनियर अनमी टीका दवाडीले गरेकी थिइन् ।