बुट्टाबारी । 

दोस्रो स्वर्गीय कृष्णप्रसाद डाँगी स्मृति फुटबल प्रतियोगिता महारानीगञ्ज माध्यमिक बिद्यालयको खेल मैदानमा शुरु भएको छ । बिहीवार भएको पहिलो खेलमा बालकल्याण आधारभूत बिद्यालय अर्जुनधारा–६ लाई सुन्यको विरुद्ध ५ गोल गरि जुनकीरी सार्वजनिक आधारभूत बिद्यालय अर्जुनधारा–११ बिजय भएको थियो । 

सो खेलमा ३ गोल रोशन हास्दा र १ गोल दिवस दर्जीले गरेका थिए । खेलको म्यान अफ दि म्याचको उपाधि नगदसहित जुनकीरी बिद्यालयका कृष्ण ढकालले प्राप्त गरे ।  दोस्रो खेल श्री कन्चनबारी आधारभूत अर्जुनधारा ५ लाई शुन्यको विरुद्ध ५ गोल लगाइ लक्ष्मी माबिले बिजय बनेको थियो । सो खेलमा म्यान अफ दि म्याच लक्ष्मी माबिका खेलाडी सतिश बिकले नगदसहित उपाधी प्राप्त गरेका थिए । 

अर्जुनधारा नगरपालिकामा रहेका ११ वटा  सामुदायिक बिद्यालय अन्तर्गत आधारभूत तह  १–८ का छात्रहरु सहभागी हुने प्रतियोगिता माघ १७ देखी सुरु भएर  माघ २५ गते सम्पन्न हुनेछ । 

प्रतियोगिता आयोजक महारानीगञ्ज माबि रहेको छ । गत बर्षदेखि आफ्ना स्वर्गीय बुबा कृष्णप्रसाद डाँगीको स्मृतिमा अमेरिकामा रहँदै आएका छोरा अरुणकुमार र नगरमा रहेका भक्तकुमार डाँगीले बालबालिकाहरुको खेलप्रतिको चाहाना र प्रेरणाका लागि प्रतियोगिता गरिदै आएको डाँगीले बताएका छन् । 

प्रतियोगितामा प्रथम हुने बिद्यालयले २० हजार र उप बिजेताले १० हजार नगदसहित ट्रफी सिल प्राप्त गर्ने कार्यक्रम संयोजक एवम् राष्ट्रिय रेफ्री, प्रशिक्षक प्रदिप बस्नेतले बताए। 

कार्यक्रममा प्रमुख अतिथि अर्जुनधारा खेलकुद बिकास समितिका अध्यक्ष सुरेन्द्र धिमाल बिशिष्ठ अतिथि पूर्व प्रअ हस्त परियार, बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष बोलप्रसाद कोइराला, जुनकीरी आबिका बिब्यस अध्यक्ष जगतबहादुर मगर लगायतले स्वास्थ्य र आफ्नो क्षमता बिकासका लागि खेल भन्दै विद्यार्थीहरुको प्रतिभा र चाखलाइ सानैदेखि उर्जागर गर्नुपर्ने बताएका थिए । उनीहरुले  यस्ता कार्यक्रमहरु गर्नु आवश्यक रहेको भन्दै आयोजक र प्रायोजन गर्ने डाँगी परिवारलाई धन्यवादसहित बिजेता खेलाडीहरुलाइ शुभकामना व्यक्त गरेका थिए । 

महारानीगन्ज बालक्लवका अध्यक्ष सुहानी राजवशीको अध्यक्षमा भएको कार्यक्रममा स्वागत बिब्यस अध्यक्ष बोलप्रसाद कोइराला गरेको कार्यक्रमको सहजीकरण शिक्षक मणिलाल खड्काले गरेको बिद्यालयका प्रधानाध्यापक मनबहादुर लिम्बुले जानकारी दिए ।