सुरुङ्गा । 

झापाको कनकाई नगरपालिकास्थित सुरुङ्गामा जारी  प्रदेश स्तरीय अन्तरपालिका भलिबल प्रतियोगिताको उपाधि बेलबारी नगरपालिकाकाले जितेको छ । 

 ‘कनकाई कप–२०८१’ को उपाधीका लागि मोरङको बेलबारी नगरपालिका  र  भारतको सिक्किमको पाउना टोली टिभिएबिच प्रतिस्पर्धा भएको थियो । बेलबारीले उपाधिसँगै नगद एक ११ हजार १११ रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ । उप बिजेता सिक्किमको पाउना टोली टिभिएले भने नगद ६१ हजार १११ रुपैयाँसहित ट्रफि, मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ । 

२५ को स्कोरमा पहिलो टिभिएले २५–२०, दोस्रो बेलबारी २५–२१, तेस्रो टिभिएले २५–२२ र चौथो बेलबारी २५–१५ ल्याएर बराबरी भएको थियो । १५ को स्कोरमा बेलबारीले १५–१३ ले उपाधि हात पारेको थियो । 

कनकाई माविको खेल मैदानमा जारी प्रतियोगिता सुरुङ्गा जेसीजको आयोजनामा गत माघ ५ गतेबाट शुरु भएर  फाइनल आज (मंगलबार) भएको हो । 

प्रतियोगितामा पाँच बिधाका उत्कृष्ट खेलाडीलाई नगदसहित पुरस्कृत गरिएको थियो । बेष्ट डिफेन्सर टिभिएका अनुप राई, बृष्ट स्पाकर बेलबारीका दिेपेश क्षेत्री, बेष्ट बलकर बेलबारीका ऋणि घिमिरे, बेष्ट सर्वर टिभिएका पर्शुराम शर्मा र बेष्ट सेटर रिदेन बिष्टलाई नगदसहित सम्मान गरिएको थियो । यसैगरी सर्वोत्कृष्ट खेलाडीका रुपमा बेलबारीका प्रकाश राउतलाई ३२ इन्चको स्मार्ट कलर टेलिभिजन प्रदान गरिएको थियो । म्यान अफ द म्याच बेलबारीका पदम खड्का भए ।

बिजेताहरुलाई कनकाई नगरपालिकाका नगर प्रमुख तथा कार्यक्रमका बिशिष्ठ अतिथि राजेन्द्रकुमार पोखरेल, कनकाई ३ का वडाध्यक्ष युवराज चम्लागाई, जनप्रतिनिधि, सुरुङ्गा जेसीजका सल्लाहकार संयोजक कुमारमणि पोखरेल, कनकाई नगर खेलकूद समितिका अध्यक्ष जविन तिम्सिना, धार्मिक तथा सामाजिक ब्यक्तित्व शेरबहादुर थापा, शिव कँडेल, एलपी उप्रेती, सुरुङ्गा जेसीजका पूर्व अध्यक्षहरु, सामाजिक संघसंस्थाका प्रमुख तथा प्रतिनिधिलगायतले पुरस्कार प्रदान गरेका थिए । 

सोही कार्यक्रमकाबिच पाँच जना पूर्व राष्ट्रिय भलिवल खेलाडीहरुलाई सम्मान गरिएको थियो । दिेपेश पाठक, सुरेन्द्र खतिवडा, गजेन्द्र ताम्लिङ, श्रीकृष्ण खड्का र संजय अधिकारीलाई सम्मान गरिएको थियो । यसैगरी क्यान्सर रोगी मुना काफ्ले खनाल र दुवै मृगौला खराव भएकी फूलमाया श्रेष्ठलाई जनही नगद ११ हजार रुपैयाँ सहयोग गरिएको थियो । 

सुरुङ्गा जेसीजका सन् २०२४ का अध्यक्ष दुर्गा पाठक (राजु) को अध्यक्षतामा भएको कार्यक्रममा सांसद लालबहादुर साँवाको प्रमुख आतिथ्य रहेको थियो । स्वागत प्रतियोगिताका संयोजक जेनिस चौलागाईले गरेको कार्यक्रमको सञ्चालन महासचिव रिसव सिंह चाहारले गरेका थिए । 

प्रतियोगिताको प्रथम पुरस्कार हाल इजरायल निवासी प्रेम उप्रेती र दोस्रो पुरस्कार कनकाई इन्टरनेशनल विल्डर्सका सञ्चालक राम मैनालीले उपलब्ध गराएको आयोजकले जनाएको छ । प्रतियोगिताको मुख्य प्रायोजक पशुपति अंग्रेजÞी माध्यमिक विद्यालय र प्रायोजकका रुपमा कनकाई नगर खेलकूद समिति रहेको थियो ।