सुरुङ्गा । 

झापाको कनकाई नगरपालिकास्थित सुरुङ्गामा  जारी  प्रदेश स्तरीय अन्तरपालिका भलिबल प्रतियोगिता ‘कनकाई कप–२०८१’  को उपाधीका लागि मोरङको बेलबारी नगरपालिका  र  टिभिए सिक्किमको पाउना टोली भिड्ने भएका छन् । 

सुरुङ्गा जेसीजको आयोजनामा कनकाई माविको खेल मैदानमा जारी  प्रतियोगितामा आज (सोमवार)भएका दुई सेमिफाइनलबाट दुई टोली फाईनलमा प्रवेश गरेका हुन् । आज  सिदिङ्ग्वा गाउँपालिका ताप्लेजुङ र बेलबारी नगरपालिका मोरङबीच भएको पहिलो सेमिफाइनलबाट २५–२१,२७–२५ र २५–१७ ले  बेलबारी नगरपालिका मोरङ विजेता बन्दै फाईनलमा प्रवेश गरेको थियो  भने आजै भएको दोस्रो सेमिफाइनलमा शिवसताक्षि नगरपालिका झापालाई  २५–२२,२५–६, २५–१७ को स्कोरले पराजित गर्दै  टिभिए सिक्किमको पाउना टोलीले फाईनलका लागि  बेलबारी मोरङसँगको भेट पक्का गरेको हो।

फाईनल खेल भोलि मंगलबार मध्याह्न १२ सुरु हुने बताएको छ। फाईनल  खेल अगाडी भोली कनकाई नगरपालिका र झापा गाउँपालिकाको महिला टोलीको बीच  खेल हुने र त्यसको विजेताले समेत नगदसहित ट्रफी साथै प्रमाणपत्र समेत प्राप्त गर्ने प्रतियोगिताका संयोजक जेनिस चौलागाईले जानकारी दिए।

प्रतियोगितामा प्राथमिक उपचारको प्राविधिक सहयोग समर मेडिसन डाइग्योनिष्ट्रक सेन्टर सुरुङ्गाले गरेको छ । प्रतियोगितामा पहिलो हुने टिमलाई नगद एक लाख ११ हजार १११ र दोस्रो हुने टिमलाई नगद ६१ हजार १११ रुपैयाँसहित ट्रफि र प्रमाणपत्र प्रदान गरिनेछ । सर्वोत्कृष्ट खेलाडीलाई ३२ इन्चको स्मार्ट कलर टेलिभिजन र विभिन्न ५ विधाका उत्कृष्ट खेलाडीलाई जनही ५ हजार १०० रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजक समितिले जनाएको छ।

प्रतियोगिताको प्रथम पुरस्कार हाल इजरायल निवासी प्रेम उप्रेती र दोस्रो पुरस्कार कनकाई इन्टरनेशनल विल्डर्सका सञ्चालक राम मैनालीले उपलब्ध गराउने जनाइएको छ । मुख्य प्रायोजकका रुपमा सुरुङ्गाको पशुपति अंग्रेज़ी माध्यमिक विद्यालय र प्रायोजकका रुपमा कनकाई नगर खेलकूद समिति रहेको छ ।

सुरुङ्गा जेसीजका सन् २०२४ का  अध्यक्ष दुर्गा पाठक राजुको अध्यक्षतामा भएको औपचारिक प्रतियोगितामा खेल   संयोजक जेनिस चौलागाईंले सबैलाई स्वागत गरेको कार्यक्रमको सञ्चालन  आयोजक सस्था सुरुङ्गा जेसीजका महासचिव रिसवसिंह चाहारले गरेका थिए । 

आज भएको तेस्रो  दिनको प्रतियोगितामा जेसीज पूर्व अध्यक्ष कुमारमणि पोखरेल, शिवकुमार कडेल, एलपी उप्रेती, जविन तिम्सिना , जनक कार्की , सरला दाहाल पोखरेल ,कमल कटेल, उषा उप्रेती,मोतिखर ओझा , सुस्मा न्यौपाने  सुरुङ्गा जेसीस सन्  २०२५ का अध्यक्ष दिपेन्द्र प्रधान विभिन्न संघ सस्थाका प्रमुख तथा प्रतिनिधि , खेल प्रेमी सयौंको उपस्थित रहेको थियो ।खेलको माध्यमबाट खेलकुदको विकास र खेलाडी उत्पादन गर्ने उद्देश्यले  प्रतियोगिता आयोजना गरिएको आयोजक समितिका अध्यक्ष  पाठकले  बताउनुभएको थियो ।