सुरुङ्गा । 

झापाको कनकाई नगरपालिकास्थित सुरुङ्गामा प्रदेश स्तरीय अन्तरपालिका भलिबल प्रतियोगिता ‘कनकाई कप–२०८१’ को चौथो संस्करण हुने भएको छ ।  सुरुङ्गा जेसीजको आयोजनामा माघ ५ देखि ८ गतेसम्म कनकाई माविको खेल मैदानमा प्रतियोगिता हुने आयोजक संस्थाले आज (बुधवार) सुरुङ्गामा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको हो । 

प्रतियोगितामा भारतको सिक्किमको एउटा टिम, कोशी प्रदेशभरीका १२ वटा पालिकाका टिम र एउटा आयोजकको गरी १४ वटा टिमको सहभागीता रहने सुरुङ्गा जेसीजका सनु २०२४ का अध्यक्ष दुर्गा पाठक (राजु) ले जानकारी दिए । 

प्रतियोगितामा पहिलो हुने टिमलाई नगद एक लाख ११ हजार १११ र दोस्रो हुने टिमलाई नगद ६१ हजार १११ रुपैयाँसहित ट्रफि र प्रमाणपत्र प्रदान गरिने राजुले बताए । यसैगरी सर्वोत्कृष्ट खेलाडीलाई ३२ इन्चको स्मार्ट कलर टेलिभिजन र बिभिन्न ५ बिधाका उत्कृष्ट खेलाडीलाई जनही ५ हजार १०० रुपैयाँ पुरस्कार प्रदान गरिनेछ ।

प्रतियोगिता सम्पन्न गर्न अनुमानित ८ लाख ५० हजार रुपैयाँ खर्च हुने र उक्त खर्च बिभिन्न प्रायोजक, सामाजिक संघ/संस्था, खेलप्रेमी, समाजसेवीहरुको सहयोगले सम्पन्न गर्ने आयोजकले जनाएको छ । 

खेलको माध्यमबाट खेलाडीको बिकास गर्ने उदेश्यले भलिवल प्रतियोगिता आयोजना गरिएको जेसीजका पूर्व अध्यक्ष कुमारमणि पोखरेलले बताए । सुरुङ्गा जेसीज सन् २०२४ का सञ्चार संयोजक जेनिस चौलागाईको संयोजकत्व तथा अध्यक्ष पाठकको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा पूर्व अध्यक्ष कुमारमणि पोखरेल, शिव कडेल, एलपी उप्रेतीलगायतले आ–आफ्नो भनाई प्रस्तुत गरेका थिए । 

प्रतियोगितामा मुख्य प्रायोजकका रुपमा सुरुङ्गाको श्री पशुपति इग्लिस सेकेन्डरी स्कुल र प्रायोजकका रुपमा कनकाई नगर खेलकूद समिति रहेका छन् । 

पत्रकार सम्मेलनमा सुरुङ्गा जेसीजका पूर्व अध्यक्ष त्रिलोचन उप्रेती, कमल कट्टेल, सल्लाहकार सोमनाथ उप्रेती, जिल्ला भलिवल संघ झापाका खडानन्द खतिवडा, सुरुङ्गा जेसीस सनु २०२५ का अध्यक्ष दिपेन्द्र प्रधानलगायतको आतिथ्य रहेको थियो । कार्यक्रमको सहजीकरण सुरुङ्गा जेसीज सन २०२४ का महासचिव रिसव चाहारले गरेका थिए ।  प्रतियोगितामा प्राथमिक उपचारको प्राविधिक सहयोग समर मेडिसन डाइग्योनिष्ट्रक सेन्टर सुरुङ्गाको रहने बताइएको छ । 

प्रतियोगिताको पहिलो संस्करणमा सुनसरी, दोस्रोमा दमक र तेस्रोमा झापा गाउँपालिका बिजेता बनेका थिए ।