बिर्तामोड ।
झापाको विर्तामोडमा रहेको बीएन्डसी मेडिकल कलेजले गत पुस २६ गतेदेखि साविकको मेची अञ्चलमै पहिलोपल्ट ५० जना विद्यार्थीलाई चिकित्सा शास्त्रको स्नातक तह (एमबीबीएस) मा अध्यापन गराउन शुरु गरेको छ ।
काठमाडौं विश्वविद्यालयको सम्बन्धन र राष्ट्रिय चिकित्सा शिक्षा आयोगको स्वीकृति बमोजिम कलेजले बेसिक साइन्स अध्यापनका लागि मेचीनगर–१२ धाइजनमा अलग्गै सुविधासम्पन्न भौतिक पूर्वाधार स्थापना गरेको छ । विर्तामोड–५ मा क्लिनिकल अध्यापनका निम्ति मेडिकल कलेज बिगत १० वर्षदेखि सञ्चालनमा रहेको छ ।
प्रतिनिधिसभा सदस्य अमृतलाल राजबंशीले झापामै डाक्टरको पढाई सुरु हुनु झापाबासीका लागि गर्वको विषय भएको बताएका छन्।उनले समाजमा पछाडि पारिएका आदिबासी, जनजाति, दलित र महिला समुदायलाई एमबीबीएस पढ्ने कोटा दिन सके अझ राम्रो हुने बताउँदै राजबंशी, सन्थाल, मेचे, धिमाल, ताजपुरिया लगायतका आदिवासी समुदाय प्राविधिक शिक्षाको पहुँचबाट टाढै भएको बताए ।
नेपाली कांग्रेस झापाका सचिव कृष्ण हुमागाईले खाडी मुलुकमा पसिना गालेर कमाएको पैसा छोराछोरीलाई डाक्टर र इन्जिनियर पढाउन अस्ट्रेलिया, यूरोप र अमेरिका पठाउनु पर्ने बाध्यता अब हट्ने भन्दै जिल्लामा मेडिकल शिक्षा शुरु भएकोमा खुशी व्यक्त गरेका छन् ।
महिला मानवाधिकार रक्षा सञ्जाल झापाकी अध्यक्ष कविता वाँस्तोलाले छोरी बुहारीहरुका लागि स्वास्थ्य विज्ञान विषयमा अध्ययन गर्न जिल्लामै सुनौलो अवसर आएको बताइन् । नेकपा (माओबादी केन्द्र) का कोशी प्रदेश कमिटी सदस्य एवम् झापा क्षेत्र नं. १ का इञ्चार्ज प्रकाश भण्डारीले बीएन्डसी मेडिकल कलेजमा एमबीबीएस तहको पढाई शुरु हुनु भनेको झापाको शैक्षिक इतिहासमा नयाँ युगको थालनी भएको बताए।
नेपाल अडिटर्स एसोसिएसनका केन्द्रीय सचिव जयधर्म पोखरेलले बंगलादेशमा एउटा नेपालीले एमबीबीएस कोर्स पूरा गर्न एक करोड रुपैयाँ तिर्नु परिरहेको जनाउँदै बीएन्डसीले जिल्लामै पनपाठन गराउँदा हरेक व्याचमा ५० करोड पूँजी विदेश जानबाट रोकिने बताए।
यता पुस २६ गतेदेखि पठनपाठन शुरु भएको बीएन्डसी मेडिकल कलेजमा अध्ययनरत् ५० जनामध्ये ३४ जना नेपाली र १४ जना विदेशी विद्यार्थी छन् । स्वदेशी ३४ जनाध्ये पाँच जनाले नेपाल सरकारको नियमानुसार शतप्रतिशत निःशुल्क छात्रवृत्ति प्राप्त गरेको कलेजका जनसम्पर्क अधिकृत प्रमिश गिरीले बताएका छन् ।
‘पश्चिम बंगालको बागडोग्रा बिमानस्थलबाट ३५ किलोमिटरको दूरीमा मेडिकल कलेज रहेको हुँदा भारतीय विद्यार्थीका लागि बीएन्डसी पहिलो रोजाई बनेको पाइयो’ जनसम्पर्क अधिकृत गिरीले भने ‘हिजोका दिनमा नेपालीहरु मेडिकल शिक्षा लिन विदेश जानु पर्ने बाध्यता थियो, अब विदेशीहरु धाएर नेपालमा आउन थाले ।’
आफ्नै जिल्लामा एमबीबीएस तहको पठनपाठन गराउने झापाबासीको दशकौं पुरानो चाहना बल्ल पूरा भएको जनाउँदै उनले मेडिकल कलेजका लागि विसं २०६८ मा सरकारबाट आशय पत्र पाउँदा र विसं २०७१ मा ३०० शैयाको अस्पताल सञ्चालन हुँदा समेत पठनपाठन शुरु हुन एक दशक कुर्नु परेको बताए। बीएन्डसी मेडिकल कलेजका प्रिन्सिपल प्राडा उमेश शर्माले काठमाडौं विश्वविद्यालयबाट सम्बन्धन पाएका ११ वटामध्ये बीएन्डसी कान्छो कलेज भएको स्मरण गर्दै पठनपाठन शुरु हुँदै गर्दा ७० जना प्रोफेसर (पूर्णकालीन फेकेल्टी) कार्यरत रहेको बताए।
उनले पहिलो सत्रमै देशका राम्रो श्रेणीका विद्यार्थीले बीएन्डसी मेडिकल कलेज रोजेको जनाउँदै मेचीनगर–१२ स्थित साइन्स ब्लकमा एनाटोमी, फिजियोलोजी, बायो केमेस्ट्री, माइक्रो बाइलोजी, कम्युनिटी मेडिसिन, फर्माकोलोजी लगायतका सुविधासम्पन्न फेकेल्टीमा पठनपाठन भइरहेको बताए।
‘शान्त र सुविधासम्पन्न छ पढाउने भवन’ उनले भने ‘बेसिक साइन्स भवनमा पाँच तला छन् । दुई वटा ठूला सेमिनार हल छन् । सात वटा डिपार्टमेन्टका अलग अलग कक्षा कोठाहरु छन् । अत्याधुनिक प्रयोगशाला र पुस्तकालय छ ।’ सबै विद्यार्थीलाई छात्रावास सुविधा र शैक्षिक वातावरण राम्रो रहेको उल्लेख गर्दै उनले झापामा बीएन्डसी अस्पतालको स्थापनापछि एक हजार जनाले प्रत्यक्ष रोजगार पाएको र अब कलेज सञ्चालन भएपछि अरु एक हजार रोजगारी सिर्जना हुने बताए।
‘भौतिक पूर्वाधार र शैक्षिक जनशक्तिका दृष्टिले बीएन्डसीले धेरै अगाडि मेडिकल कलेजको सम्बन्धन पाउनु पथ्र्यो’ प्रिन्सिपल शर्माले भने ‘सुरुमै पढाई हुन पाएको भए यतिखेर एक हजार जनाले एमबीबीएस उत्तीर्ण गरिसक्थे भने यहाँ पढ्नेहरु प्रोफेसर भइसक्थे ।’ झापाको आर्थिक विकासमा बीएन्डसी मेडिकल कलेज र हस्पिटलले ठूलो टेवा पुर्याएको र जिल्लालाई मेडिकल शिक्षा र मेडिकल टुरिज्मको हब बनाउने बाटो खुलाएको उनको धारणा छ ।
सर्वोच्च अदालतले विसं २०८० चैत्र १३ गते बीएन्डसी मेडिकल कलेजलाई सम्बन्धन दिनका लागि परमादेश जारी गरेको थियो । सोही परमादेशका आधारमा काठमाडौं युनिभर्सिटीले सम्बन्धन प्रदान गरेको हो ।