बिर्तामोड ।
झापा बिर्तामोड–१ को श्री सुनकोशी बचत तथा ऋण सहकारी संस्थाको १८औँ वार्षिक साधारण सभा नयाँ समितिको निर्वाचन गर्दै सम्पन्न भएको छ । संस्थाका अध्यक्ष गंगाराम ओडारीको अध्यक्षता तथा डिभिजन सहकारी कार्यालय झापाका पूर्व प्रमुख तथा सहकारी अभियन्ता डिल्ली दाहालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा संस्थाका संचालक सदस्य हेमप्रसाद राजबंशीले स्वागत गरेका थिए ।
रेडक्रस भवन बाह्रदशी–७ डाँगीबारीको सभा हलमा भएको साधारण सभामा संस्थाका अध्यक्ष गंगाराम ओडारीले संस्थाको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाको शेयर पुँजी २ करोड ९ लाख ६७ हजार १ सय रुपैयाँ, निक्षेप ११ करोड ५७ लाख ५१ हजार ४ सय ६८ रुपैया ७१ पैसा, कर्जा लगानी ११ करोड ४८ लाख ५ हजार १ सय ९७ रुपैयाँ ५६ पैसा, गत असार मसान्त सम्मको वासलात १५ करोड २० लाख ६६ हजार २ सय २० रुपैयाँ ९६ पैसा रहेको र कुल वार्षिक वार्षिक कारोवार ४९ करोड ४३ लाख २० हजार ८ सय ५० रुपैया ९९ पैसा गरेको अध्यक्ष ओडारीले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख छ ।
संस्थाले बिगतका कार्यक्रम हरुको निरन्तरता अन्तर्गत विभिन्न अवसरमा शेयर सदस्य तथा कर्मचारीलाई पुरस्कृत गर्ने, मृतक राहत कोष अन्तर्गत सदस्यहरुलाई दिईने सुबिधा, शेयर सदस्यका छोराछोरीलाई प्रविधिक शिक्षा अध्ययन गर्न दिइने छात्रवृति सुबिधा, सदस्यहरुको बिमा सुविधालाई निरन्तरता दिईने प्रतिवेदनमा उल्लेख छ ।
त्यस्तै संस्थाले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत विभिन्न संघ संस्थाहरुलाई निरन्तर सहयोग गर्दै आइरहेको र आगामी बर्ष पनि सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत गरिने कार्यक्रमहरुलाई अझ बढी प्रभावकारी र बिस्तारित गरिने प्रतिवेदनमा उल्लेख छ ।
उक्त कार्यक्रममा संस्थाको आ.व. ०८१÷०८२ का लागि बार्षिक कार्यक्रम, अनुमानित आय व्यय विवरण तथा संस्था संचालनका लागि आवश्यक पर्ने विभिन्न आन्तरिक नीति तथा नियमावलीहरु अनुमोदनका लागि प्रस्तुत गरिएको थियो । संस्थाका लेखा समितिका संयोजक नरेशकुमारसिंह राजवंशीले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रमको सञ्चालन संस्थाका सचिव कमल पराजुलीले गरेका थिए ।
मेची भन्सार कार्यालयका लेखापाल दयानन्द नेपालको संयोजकत्वमा रुपाकुमारी राई र डिल्ली दाहाल सदस्य रहेको निर्वाचन समितिले संचालक तथा लेखा सुपरिवेक्षण समिति सर्वसम्मत चयन गरेको थियो । संस्थाको सञ्चालक समिति अध्यक्षमा गंगाराम ओडारी, उपाध्यक्षमा हेमप्रसाद राजबंशी, सचिवमा कमल पराजुली सर्वसम्मत चयन भएका छन् ।
यसैगरी संजयराज पोख्रेल, हरिप्रसाद ओझा, लेखमाया गौतम, बलबहादुर खवास, कला लिम्बु, महानन्द प्रसाई, लक्ष्मी दाहाल, नविनकुमार भट्टराई चयन भएका छन् । लेखा सुपरिवेक्षण समितिको संयोजकमा नरेशकुमारसिंह राजबंशी, सदस्यमा जयप्रकाश खरेल, बाबुलाल राजबंशी सर्वसम्मत चयन भएका सचिव पराजुलीले जानकारी दिए ।