सुरुङ्गा ।
संस्थाका सदस्यलाई सहकारी शिक्षा र धार्मिक तथा पर्यटकीय क्षेत्रको अवलोकन भ्रमण गराउने उदेश्यले श्री पताल गंगा बचत तथा ऋण सहकारी संस्थाले बनभोज कार्यक्रमको आयोजना गरेको छ ।
झापा बिर्तामोड–५ मा मुख्य कार्यालय रहेको साकोसले आइतवार १६ औं बार्षिकोत्सवको अवसरमा जामुनखाडी सिमसारको अवलोकन भ्रमण तथा पर्यटकीय क्षेत्रको प्रवर्धनसँगै सदस्यलाई सहकारी शिक्षा दिएको हो ।
संस्थाका अध्यक्ष युवराज गिरीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेको प्रमुख आतिथ्य रहेको थियो । स्वागत संस्थाका उपाध्यक्ष टंकप्रसाद भेटवालले गरेको कार्यक्रममा औचित्यमाथि प्रकाश ब्यवस्थापक गंगा सापकोटाले पारेकी थिइन् । संस्थाले आयोजना गरेको हण्डीफोर, बेलुन फाइट र म्युजिक चियरमा पहिलो हुने बिजेताहरुलाई प्रमुख अतिथि थेवेले नगद पुरस्कार प्रदान गरेका थिए ।
त्यसैगरी अन्य २ जनालाई पनि सान्त्वना पुरस्कार प्रदान गरिएको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, नेपाली कांग्रेस झापाका सचिव नविन बिमलीलगायतको आतिथ्य रहेको थियो । कार्यक्रमको सञ्चालन लेखापाल देबीमाया सापकोटाले गरेकी थिइन् ।
संस्थाको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै संस्थाका अध्यक्ष गिरीले संस्थाको आगामी योजना बताएका थिए । उनले आगामी दिनमा मसला उदद्योग सञ्चालन गर्ने, मोबाइल बैकिङ सेवा शुभराम्भ गरिसकेकोलगायतका बारेमा जानकारी दिएका थिए ।
संस्थाले प्रत्येक बर्ष बार्षिकोत्सवका अवसरमा सदस्यहरुलाई सहकारी शिक्षासहित पर्यटकीय क्षेत्रको अवलोकन तथा भ्रमण गराउँदै आएको छ । अघिल्लो बर्ष कोशी टपु लगेको र यस बर्ष जामुनखाडी पर्यटकीय स्थलमा कार्यक्रम गरेको अध्यक्ष गिरीले बताए ।