रतुवामाई । 

झापाको बिर्तामोड–२ मा मुख्य कार्यालय रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले एकाईगत साधारणसभा अन्तरगत आज (आइतवार) मोरङको भौडाहा सेवाकेन्द्रको सम्पन्न गरेको छ । 

नेपालकै सवै भन्दा ठूलो सहकारी संस्था सहारा नेपाल साकोसले २८ औं बार्षिक साधारणसभा अन्तरगतको एकाईगत साधारणसभा रतुवामाई नगरपालिका–९ मा सम्पन्न गरेको हो । संस्थाले गत पौष १५ गतेबाट शुरु गरेको एकाईगत तथा उप–एकाईगत साधारणसभा अन्तरगत आज भौडाहा सेवा केन्द्रको सम्पन्न गरेको छ । 

समुह अध्यक्ष नीरा कट्टेलको अध्यक्षतामा भएको कार्यक्रममा रतुवामाई नगरपालिका–१० वडाध्यक्ष तथा प्रवत्ता भूलबहादुर कार्कीको प्रमुख आतिथ्य रहेको थियो । अध्यक्षको प्रतिवेदन सेवा केन्द्र प्रमुख खगेन्द्र निरौलाले प्रस्तुत गरेको कार्यक्रममा प्रस्तावित नीति तथा कार्यक्रम संस्थाका उपबिभागीय प्रमुख गोपाल भट्टराई प्रस्तुत गरेको सहारा नेपाल साकोसका सेवा केन्द्र प्रमुख खगेन्द्र निरौलाले जानकारी दिए । लेखा सुपरिबेक्षण तथा बाह्य लेखा परिक्षण उर्लाबारी सेवा केन्द्रकी प्रमुख सिर्जना डाँगीले प्रस्तुत गरेकी थिइन् । 

सोही कार्याक्रमकाबिच समुह नं.१८ की सदस्य अम्बिकादेबी कट्टेलको मृत्युपछि उनका श्रीमान दिनानाथ आचार्यलाई ५ लाख रुपैयाँको कर्जा मिनाह गरिएको बताइएको छ । सेवा केन्द्र भौडाहाका कर्मचारी शिवप्रसाद दंगालले स्वागत गरेको कार्यक्रमको सञ्चालन गौरादह सेवा केन्द्र प्रमुख सरोज ढुङ्गेलले गरेका थिए । 

संस्थाले यस आर्थिक बर्ष २०८०/२०८१ असार मसान्तसम्म संस्थाको पुँजी तथा दायित्व १६ अर्व ८३ करोड ३३ लाख ३६ हजार ४१०, शेयर पुँजी एक अर्व ६७ करोड ८६ लाख १२ हजार ७००, निक्षेप १२ अर्व ७५ करोड ३७ लाख ६३ हजार २०८, ऋण लगानी १० अर्व ९३ करोड ९४ लाख ६१ हजार ३५८, आम्दानी एक अर्व ९१ करोड ५७ लाख ३७ हजार ४७ रुपैयाँ, खर्च १ अर्व ८० करोड ६३ लाख २१ हजार ५८१ गरेर कुल नाफा १० करोड ९१ लाख १५ हजार ४६६ रुपैयाँ गर्न सफल भएको सेवा केन्द्र प्रमुख निरौलाले बताए ।