सुरुङ्गा ।
झापाको कनकाई नगरको कनकाई खेलकुद प्रतिष्ठानको आगामी कार्यकालका लागि पुनः छबि थपलियाको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन भएको छ । प्रतिष्ठानको नवौं साधारण सभा तथा पाँचौं अधिवेशनबाट पूर्व थपलियाको नेतृत्वमा आगामी कार्यकालका लागि कार्यसमिति सर्वसम्मत रुपमा चयन भएको हो ।
खेलकुद प्रतिष्ठानको उपाध्यक्षमा भुवन खतिवडा र महिला उपाध्यक्षमा चित्रा श्रेष्ठ, सचिवमा रामप्रसाद निरौला सर्वसम्मत रुपमा चयन भएका छन् । त्यस्तै सहसचिवमा गीता खरेल र कोषाध्यक्षमा डम्बर फुयाल चयन भएका छन् ।
समितिको सदस्यहरुमा क्रमशः गणेश संग्रौला, गोमा कार्की, अर्जुनकुमार ओली, ईश्वरकिरण सुवेदी, राजेश अघोरी, धनबहादुर बोगटी र रामकुमार देवान सर्वसम्मत चयन भएको निर्वाचन समितिका संयोजक ज्योतीकुमार उप्रेतीले जानकारी दिए ।
आगामी दिनमा विधानमा भएअनुसार एक सहसचिव र एक सदस्य मनोनित गरी १५ सदस्यीय कार्यसमितिलाई पूर्णता दिइने जनाइएको छ । कार्यसमिति सर्वसम्मत चयनका लागि प्रतिष्ठानका संस्थापक अध्यक्ष ज्योतीकुमार उप्रेतीको संयोजकत्वमा पुर्व अध्यक्षहरु दुर्गा प्रसाईँ र दिननाथ खतिवडा सदस्य रहेको निर्वाचन समितिले सहजीकरण गरेको जनाइएको छ । नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई निर्वाचन मण्डलका सदस्य एवं प्रतिष्ठानका पुर्व अध्यक्ष दुर्गा प्रसाईँले सपथग्रहण गराएका थिए ।
प्रतिष्ठानका अध्यक्ष थपलियाको अध्यक्षता एवं कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलको प्रमुख आतिथ्य भएको कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख पोखरेलले कनकाईको दिगो विकासका लागि खेलकुदका क्षेत्रमा काम गर्ने संस्थाहरु सक्रिय भएर अघि बढ्नु पर्ने सुझाव दिए ।
नगर क्षेत्रमा क्रियाशिल संघसंस्थाहरु मध्ये कुन संस्थाले के गर्ने भन्ने विषय प्रष्ट हुनु पर्नेमा जोड दिँदै नगर प्रमुख पोखरेलले क्रियाशिल संघसंस्थाहरुले वार्षिक क्यालेण्डर निर्माण गरी सोही अनुरुप अघि बढ्न सकेमा लक्ष्यमा पुग्न सकिने बताए । संघसंस्थाहरुलाई थप सुझाव दिँदै नगर प्रमुख पोखरेलले संस्थाको दिगो विकासका लागि अक्षयकोष निर्माणमा पहल गर्न आग्रह गरे ।