सुरुङ्गा । 

झापाको कनकाई नगरपालिका–३ सुरुङ्गाको श्री भीमसेन बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा तेजबहादुर श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । संस्थाको शनिवार (आज) सुरुङ्गामा भएको १५ औं बार्षिक साधारण सभा तथा छैटौ अधिवेशनबाट श्रेष्ठ अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् । 

संस्थाको नयाँ सञ्चालक समितिको उपाध्यक्षमा दिब्यराज ढकाल, सचिवमा रुद्रबहादुर श्रेष्, सह–सचिवमा अनिता श्रेष्ठ र सदस्यमा निता श्रेष्ठ, मैयाकुमारी चौहान, तीर्थराज खरेल, भोजकुमार श्रेष्ठ र तीर्थबहादुर श्रेष्ठ सर्वसम्मत् चयन भएको निर्वाचन समितिका संयोजक खेमराज भट्टराईले जानकारी दिए । 

यसैगरी लेखा समितिको संयोजकमा कमलप्रसाद भट्टराई, सदस्यमा कुमार पाठक र उर्मिला खड्का सर्वसम्मत चयन भएका छन् । निर्वाचन समितिमा संयोजक खेमराज भट्टराई, सदस्यमा मीनकुमार प्रधान र यशोदा श्रेष्ठ रहेका थिए । 

संस्थाका अध्यक्ष नरेन्द्रकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा कनकाई–३ का वडाध्यक्ष युवराज चम्लागाईको प्रमुख आतिथ्य रहेको थियो । संस्थाका अध्यक्ष अस्वस्थ भएका कारण अध्यक्षको प्रतिवेदन सञ्चालक सदस्य तीर्थराज खरेलले प्रस्तुत गरेका थिए । 

अध्यक्षको प्रतिवेदन अनुसार आर्थिक बर्ष २०८०/०८१ असार मसान्तसम्ममा ५०३ शेयर सदस्य रहेको संस्थाको कुल चुक्ता शेयरपुँजी एक करोड ५८ लाख ७४ हजार ३०० रुपैयाँ रहेको छ । यसैगरी कुल बचत ५ करोड २६ लाख १४ हजार ९५९ रुपैयाँ ९३ पैसा र कूल ऋण लगानी ६ करोड ८५ लाख ९८ हजार १७५ रुपैयाँ रहेको अध्यक्षको प्रतिवेदनमा उल्लेख छ । 

सोही कार्यक्रमकाबिच जेष्ठ सदस्यका रुपमा कमलादेबी श्रेष्ठ, पदमबहादुर श्रेष्ठ, दुर्गादेबी प्रधान, कृष्णप्रसाद पोखरेल र रुद्रनारायण श्रेष्ठलाई नगदसहित सम्मान गरिएको थियो । त्यस्तै असल बचतकर्ताका रुपमा रामबाबु महर्जन र कामेश्वरलाल कर्ण, असल ऋणिका रुपमा रामप्रसाद कोइराला र सरस्वतीदेबी श्रेष्ठ साथै उत्कृष्ट कर्मचारीका रुपमा जुनु खनाल अधिकारीलाई नगदसहित सम्मान गरिएको संस्थाका ब्यवस्थापक खगेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । 

कार्यक्रममा प्रमुख अतिथि वडाध्यक्ष चम्लागाई, संस्थाका संस्थापक अध्यक्ष भरतकुमार श्रेष्ठ, दोमुखा सहकारीका सचिव खगेन्द्रप्रसाद खनालले शुभकामना मन्तव्य राखेका थिए ।  स्वागत संस्थाको उपाध्यक्ष रत्नकुमार श्रेष्ठले गरेको कार्यक्रमको सञ्चालन सचिव तेजबहादुर श्रेष्ठले गरेका थिए ।