चारपाने ।
सामाजिक कार्य नागरिकसँग जोडेर बिपन्न नागरिकको जीवनस्तर उकास्न मद्दत पुर्याउँदै आएको देशभकै ठूलो सहकारी सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको आगामी लक्ष्य सार्वजनिक गरेको छ ।
झापाको बिर्तामोड–२ स्थित चारपानेमा मुख्य कार्यालय रहेको सहारा नेपाल साकोसले २८ औं बार्षिक साधारणसभामा प्रस्तुत प्रतिवेदनमा आगामी संस्थाले अघि सारेका लक्ष्य सार्वजनिक गरेको हो ।
साकोसले आगामी आर्थिक बर्षमा संस्थाको कार्य क्षेत्रभित्र रहेका सम्पूर्ण स्थानीय तहका सबै वडाहरुमा सेवा विस्तार गरी २ लाख २५ हजार सदस्य पुर्याउने , संस्थाको कार्यक्षेत्रभित्र रहेका कुल परिवार संख्याको ४० प्रतिशत परिवारमा वित्तीय सेवा पुर्याउने , संस्थाको शेयर पूँजी २ अर्ब, बचत १५ अर्ब र ऋण लगानी १४ अर्ब पुर्याउने लक्ष्य राखेको २८ औं बार्षिक साधारणसभामा प्रस्तुत गरिएको प्रतिवेदनमा उल्लेख छ ।
यसैगरी संस्थाको दिगोपनका लागि कोषलाई बृद्धि गरी २ अर्ब पुर्याउने , संस्थामा आबद्ध सम्पूर्ण सदस्यहरुलाई सामाजिक सुरक्षा योजना अन्तर्गतका सेवा उपलब्ध गराउने, सम्पूर्ण शेयर सदस्यहरु मध्येबाट २० प्रतिशत सदस्यहरुलाई जीवन उपयोगी सीप उपलब्ध गराइने, संस्थाको ऋण असुलीलाई शतप्रतिशत कायम राख्दै सञ्चालन वित्तीय स्वःसक्षमतालाई वृद्धि गर्दै लाने र संस्थाले प्रदान गरेका सेवाहरुबाट आफ्ना सदस्यहरुको जीवनस्तरमा क्रमिक सुधार ल्याउनेलगायतका लक्ष्य अघि सारेको प्रतिवेदनमा उल्लेख छ ।
पौष १५ गतेबाट शुरु भएको एकाईगत तथा उप–एकाईगत साधारणसभा आगामी २१ गते सम्पन्न हुनेछ भने उक्त एकाईगत साधारणसभाबाट छनौट भएका प्रतिनिधिसहित आगामी पुस २७ गते शनिवार अन्तिम माइन्यूट प्रमाणित गरिने साकोसका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीले जानकारी दिए ।
११ वटा जिल्ला र ८० वटा पालिकाको स्वीकृति पाएको देशकै ठूलो सहकारी संस्था सहारा नेपाल साकोसले ६ वटा जिल्लाका ७० वटा पालिकाका ८१ वटा सेवा केन्द्र, ७ वटा अनुगमन कार्यालय, मुख्य कार्यालयसहित ८९ स्थानबाट सेवा प्रदान गर्दै आएको संस्थाले जनाएको छ ।