बिर्तामोड ।
नेपाल हृदय रोग निवारण केन्द्र (हार्ट फाउण्डेशन) को केन्द्रीय सभा पुस १३ र १४ गते झापामा हुने भएको छ । केन्द्रको ३३ औँ केन्द्रीय सभा बिर्तामोडस्थित अग्रसेन भवनमा हुन लागेको बिर्तामोडमा आज (बिहीवार) पत्रकार सम्मेलन गरी आयोजक संस्थाले जानकारी दिएको हो ।
केन्द्रले मुटु रोग सम्बन्धि सचेतना जगाउने र यसको उपचारको लागि वकालत गर्दै आएको निवर्तमान अध्यक्ष बलराम न्यौपानेले जानकारी दिए । केन्द्र र यसका गतिविधीको प्रचारका लागि मोफसलमा केन्द्रीय सभा गर्न थालिएको र अघिल्लो बर्ष काभ्रेपलाञ्चोकको बनेपामा गरिएको पूर्वअध्यक्ष डिल्लीराम घिमिरेले बताए ।
डा. मेगेन्द्रराज पाण्डेको अगुवाईमा २०४५ सालमा स्थापना भएको केन्द्रले ५९ जिल्लामा शाखा र बाँकी अन्य जिल्लाहरुमा तदर्थ समिति विस्तार गरि ७७ वटै जिल्लाबाट कार्य गर्दै आएको पूर्वअध्यक्ष घिमिरेले जानकारी दिए ।
केन्द्रले मुटुका बिरामीहरुको उपचारका लागि आर्थिक सहयोग गर्नुका साथै शहिद गंगालाल हृदय रोग केन्द्र र अन्य सहयोगी संस्थाहरुसँग समन्वय गरिदिने गरेको पनि घिमिरेले बताए । केन्द्रमा स्थापित कोषको रकमबाट उत्कृष्ट कार्य सम्पादन गर्ने शाखाहरुलाई पुरस्कृत गर्दै आएको निवर्तमान अध्यक्ष न्यौपानेले जानकारी दिए । गत बर्ष झापाको कनकाई नगरपालिकाले नगर क्षेत्रभित्र सूर्तीजन्य पदार्थ बिक्री वितरण र सेवनमा रोक लगाएको कारण पालिकालाई सम्मानसमेत गरेको थियो ।
कार्यक्रमको अवधीमा स्वयम् सेविकाहरुलाई प्राविधिक तालिम दिनुका साथै बिएण्डसी अस्पतालबाट प्रभातफेरी निकाल्ने आदि कार्यक्रम रहेको केन्द्रका झापा अध्यक्ष सन्तोष अग्रवालले जानकारी दिए । कार्यक्रमको पुष १३ गते शनिबार दिउँसो साढे तीन बजे केन्द्रका केन्द्रीय अध्यक्ष डा. सत्यनारायण सुवालले उद्घाटन गर्ने झापा शाखाका सहसचिव राम निरौलाले बताए ।
कार्यक्रममा सहभागीहरुलाई झापाका पूर्व अध्यक्ष कुमारमणि पोखरेलले स्वागत गरेका थिए भने झापा अध्यक्ष सन्तोष अग्रवालले केन्द्रियसभामा हुने कार्यक्रमका बिषयमा जानकारी गराएका थिए । पत्रकार सम्मेलनमा हार्ट टेक्नियसयन अंशुकाराज उपाध्ययको समेत उपस्थिति रहेको थियो ।