बिर्तामोड ।
प्रथम झापा कप २०८१ को पहिलो सेमिफाइनल खेल आज सलहेश युवा क्लब सिरहा र चर्च ब्वाइज युनाइटेडबीच हुँदैछ । क्वार्टर फाइनलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई २(० गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा प्रवेश गरेको मधेशको बलियो टिम सलहेश आज ए डिभिजन लिग विजेता चर्च ब्वाइजसँग सामना गर्दैछ ।
डोमालाल राजवंशी रंगशालामा चारपटकको झापा गोल्डकपको उपाधि जितेको आर्मीलाई रोकेको सलहेश चर्च ब्वाइजसँग खेल्नुअघि फर्ममा रहेको छ । मधेशको चर्चित टिम सलहेशले पूर्वी नेपालका प्रतियोगितामा बलियो खेल प्रदर्शन गर्दै आएको छ । बैशाखमा भएको भोजपुर गोल्डकपमा सेमिफाइनल पुगेको क्लबले चर्च ब्वाइजसँग हार व्यहोर्नु परेको थियो ।
त्यस्तै, बैशाखमै भएको भीमनारायण गोल्डकपमा पहिलो चरणमै रोकिएको सलहेश भदौमा भएको ताप्लेजुङ गोल्डकपको उपविजेता बनेको थियो । डोमालाल राजवंशी रंगशालामा अघिल्लो सिजन पहिलो सहभागितामै झापा गोल्डकपको उपाधि जितेको चर्च ब्वाइज बैशाखमा भएको भोजपुर गोल्डकपको विजेता हो ।
झापा कपमा गोर्खा ब्वाइज स्पोर्टस् क्लब रुपन्देहीलाई ३–० गोल अन्तरले रोक्दै चर्च ब्वाइज सेमिफाइनलमा पुगेको हो । लिग लिडर चर्च ब्वाइजसँग एएफसी च्यालेन्ज लिगको छनोट र ४० औँ अखिल भारत गभर्नस् गोल्डकप खेलेको अनुभव छ ।
सिरहा गोल्डकपको अपेक्षित नतिजा निकाल्न नसकेको चर्च ब्वाइज मंसिर अन्तिा साता इलाममा भएको इलाम गोल्डकपको फाइनलमा एनआरटीसँग पराजित भएको थियो । प्रतियोगिताको विजेताले नगद १० लाख तथा उपविजेताले नगद ५ लाख पुरस्कार पाउने आयोजक झापा ११ फुटबल क्लबका अध्यक्ष जलकुमार गुरुङले जानकारी दिए । प्रतियोगिताको फाइनल खेल पुस ८ गते हुनेछ ।
प्रत्येक खेलको प्लेयर अफ द म्याचले १० हजार नगद पाउनेछन् । प्रतियोगिताको उच्च गोलकर्ता एकजना तथा उत्कृष्ट गोलकिप्पर एकजनालाई ३५ हजार नगद पुरस्कार प्रदान गरिनेछ । त्यस्तै, प्रतियोगिताको एक उदीयमान खेलाडीलाई झापा ट्यालेन्ट घोषणा गरेर नगद ३५ हजार रुपैयाँ प्रदान गरिनेछ । प्रतियोगिताको सर्वोत्कृष्ट एकजना खेलाडीलाई मस्ट भ्यालुएवल खेलाडी घोषित गरेर नगद १ लाख रुपैयाँ प्रदान गरिने अध्यक्ष गुरुङले जानकारी दिए ।
प्रतियोगितालाई रोमाञ्चक बनाउँदै प्रोत्सहान गर्न बिर्तामोडको महेन्द्ररत्न स्टोर्सले प्रत्येक दिन एकजना भाग्यशाली दर्शकलाई हिमस्टार टिभी प्रदान गर्दै आएको छ ।