बिर्तामोड ।

 झापाको बिर्तामोड–३ बिर्ताबजारस्थित डोमालाल राजवंशी रंगशालामा आजदेखि झापा कप २०८१ हुँदैछ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले आज दिउँसो २ बजे प्रतियोगिता उद्घाटन गर्ने जनाइएको छ । उद्घाटन खेलमा काठमाडौँको त्रिभुवन आर्मी फुटबल क्लब र मोरङको एलएक्स सिटी फुटबल क्लबबीच प्रतिस्पर्धा हुने भएको छ ।

झापा ११ फुटबल क्लबको आयोजनामा हुन लागेको प्रतियोगितामा सिराहाको सलहेस युवा क्लब, काठमाडौँको एनआरटी फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड, इटहरीको राष्ट्रिय जागृति क्लब सहभागी हुने भएका छन् । 

त्यस्तै प्रतियोगितामा दार्जिलिङको जिटिए, काठमाडौँ जिल्ला लिग च्याम्पियन चित्लाङ फुटबल क्लब, रुपन्देहीको गोर्खा ब्वाईज स्पोर्ट्स क्लब र झापा ११ सहभागी हुने भएका छन् । प्रतियोगिताको फाइनल खेल पुस ८ गते हुनेछ । 

प्रतियोगिताको विजेताले नगद १० लाख, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ । उपविजेताले नगद ५ लाख, ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्ने आयोजक समितिले जनाएको छ ।