झापा। 

नेकपा (माओवादी) पूर्व केन्द्रीय कमाण्डको नाममा गिरीबन्धु टी इस्टेटको चिया फ्याक्ट्री अगाडि कुकर बम राखेर आतंकित पार्ने थप दुईजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा गोरखा पालुङटार नगरपालिका–७ घर भई हाल जिल्ला तनहुँ ब्यास नगरपालिका–१४ बस्ने गौरव उपनाम भएका ३६ वर्षीय अमृत सापकोटा र खोटाङ खोटेहाङ गाउँपालिका–७ कातिके टोल बस्ने समर्पण भट्टराई उपनाम भएका ३५ वर्षीय दिलिप भट्टराई रहेका छन् । 

जिल्ला प्रहरी कार्यालय पर्साको सहयोगमा मंसिर २५ गते पक्राउ गरी बिहीवार झापा जिल्ला अदालतबाट ९ दिन म्याद मिलान गरी इलाका प्रहरी कार्यालय बिर्तामोडबाट थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयले झापाले जनाएको छ । 

यसअघि मंसिरको दोस्रो साता घटना गराएको करिव अढाई महिनापछि दुई जना पक्राउ परेका थिए । पक्राउ पर्नेहरुमा मोरङ मिक्लाजुङ गाउँपालिका–९ मधुमल्ला बस्ने ३६ वर्षीय राजकुमार माझी र कानेपोखरी गाउँपालिका–६ शिवालय टोल बस्ने २० वर्षीय धिरज माझी रहेका छन् । राजकुमारलाई उर्लाबारी नगरपालिका–७ उर्लाबारी चोकबाट पक्राउ गरिएको थियो भने सोही दिन धिरज पथरीशनिश्चरे नगरपालिका–१ जातेरोड चोकबाट पक्राउ परेका थिए ।

गत भदौ २८गते  बिर्तामोड नगरपालिका–६ स्थित गिरीबन्धुकै शमशेर एण्ड गंगादेवी टी स्टेट प्रालिको पश्चिम पर्खाल नजिकै क्षति पुर्याउने उद्धेश्यले उनीहरुले कुकर बम राखेका थिए । नेकपा (माओवादी) पूर्व केन्द्रीय कमाण्ड गिरीबन्धु टी स्टेटको जग्गा कब्जा किन ?लेखिएको पर्चा त्यहाँ भेटिएको थियो ।