बिर्तामोड । 

प्रपर्टी डिलर्स एसोसिएशन अफ नेपालको तेस्रो अधिवेशनबाट नाम परिवर्तन भएको छ । संस्थाको आज (बुधवार)  बिर्तामोडमा भएको तेस्रो अधिवेशनबाट जग्गा तथा आवास विकास संघ राख्ने निर्णय गरेको हो ।  

अधिवेशनमा प्रतिवेदन प्रस्तुत गर्दै प्रपर्टी डिलर्सका अध्यक्ष राजकुमार मेवाहाङ राईले नाम परिवर्तनका लागि गरेको प्रस्तावमा सवैले तालि बजाएर सहमति जनाएका थिए । 

अध्यक्ष राईले देशभर छरिएर रहेका घर जग्गा व्यवसायीहरुको एउटै उदेश्य रहेकाले सवैले साझा नाम राख्ने प्रस्ता पेश गरेका थिए । देशभरका घर जग्गा ब्यवसायीलाई संगठित गर्दै एउटै उदेश्य भएको नेपाल जग्गा तथा आवास विकास महासंघ निर्माण भएकोले महासंघको निर्देशन अनुसार जिल्लामा रहेका संघहरुको नाम परिवर्तन गरिएको जानकारी दिए । 

प्रपर्टी डिलर्सका अध्यक्ष मेवाहाङ राईको अध्यक्षतामा भएको अधिवेशनमा नेपाल जग्गा तथा आवास बिकास महासंघका अध्यक्ष भेषराज लोहनीको प्रमुख आतिथ्य रहेको थियो । स्वागत उपाध्यक्ष रोशन बोहोराले गरेको कार्यक्रममा प्रमुख अतिथि लोहनी, नेपाल जग्गा तथा आवास बिकास महासंघका उपाध्यक्ष धनश्याम पोखरेल, महासचिव ध्रुव घिमिरे, सचिव रामसुन्टर बके, महासंघ सुनसरीका अध्यक्ष नेत्र चम्लागाईलगायतले आ–आफ्नो धारणा राखेका थिए । कार्यक्रमको सञ्चालन प्रपर्टी डिलर्सका महासचिव डेसर किरण राईले गरेका  थिए । 

प्रपर्टी डिलर्स एसोसिएशन अफ नेपाल ( नयाँ नाम ः जग्गा तथा आवास विकास संघ ) को आजको अधिवेशनको बन्दसत्रबाट नयाँ नेतृत्वसमेत चयन हुने प्रपर्टी डिलर्सका कोषाध्यक्ष टहलदास ओलीले जानकारी दिए ।