बिर्तामोड ।
गोर्खा फाउन्डेशनका अध्यक्ष वीरु दर्नाल सम्मानित भएका छन् । दमाई समाज खर्साङका अध्यक्ष प्रकाश सेवाको नेतृत्वमा आएको ११ जनाको टोलीले दर्नाललाई बिर्तामोडमै सम्मान गरेको हो ।सामाजिक सेवामार्फत् दमाई जातिलाई अगाडि बढाउँदै जातीय पेशाको प्रवर्द्धन गरी टेलरिङ, पत्रकारिता तथा समाज सेवामा पुर्याएको योगदानको उच्च मूल्यांकन गर्दै दर्नाललाई सम्मान गरेको जनाइएको छ ।
गत मंसिर २ गते खर्साङमा आयोजित दमाई समाजको ७८ औं वार्षिकोत्सवको अवसरमा दर्नाललाई सम्मान गर्ने कार्यक्रम रहेको थियो । मंसिर २ गते दर्नालकी आमाको १२ औं दिनको शुद्धिशान्ति कार्यक्रम परेकाले उपस्थित हुन नसकेका दर्नाललाई आइतवार बिर्तामोडमै आएर समाजले सम्मान गरेको अध्यक्ष सेवाले जानकारी दिए ।
नेपालबाट लेखक तथा अध्येता डिबी नेपाली (दमु) र दर्नाललाई उक्त सम्मान प्रदान गरिएको हो । सम्मानित ब्यक्तित्व दर्नालले धन्यबाद मन्तव्य राख्दै दुई देशबिचको सम्बन्ध विकास गर्न र समुदायको उन्नतिका लागि यो सम्मानले पुलको काम गरेको बताए । कार्यक्रममा नौमती सगुन समाजका अध्यक्ष सुवास त्रिखत्री, अग्रज टिकाराम शिवा, साहित्य चौतारीका संरक्षक देवीभक्त श्रेष्ठलगायतले बोलेका थिए ।
समाजका प्रचारप्रसार सचिव उमेश कार्की ढोलीका अनुसार दिपेन सेवा, सुरज नौवाग, नवीन शिवा, दिनेश सेवा, बीबी परियार, गौरी जैरु, रीता सेवा र प्रिया सेवाको टोली खर्साङबाट आएको थियो । नौमती सगुन समाजका अध्यक्ष सुवास त्रिखत्री, वरिष्ठ उपाध्यक्ष पदम दर्नाल, महासचिव महेन्द्र दास, कोषाध्यक्ष रोशन नेपाली, सदस्य दिनेश दासलगायतको समन्वयमा कार्यक्रम सम्पन्न भएको जनाइएको छ ।