बिर्तामोड । 

झापाको बिर्तामोड–४ मा मुख्य कार्यालय रहेको कर्णाली बचत तथा ऋण सहकारी संस्थाले २४ औं बार्षिक साधारणसभा अन्तरगत माइन्यूट लेखन तथा प्रमाणीकरण गरेको छ । बिर्तामोडमा आज (शुक्रवार) साकोसले अन्तिम माइन्यूट प्रमाणीकरण गरेको हो । झापा, मोरङ र इलाम गरी तीन जिल्लाका २६ पालिकामा कार्यक्षेत्र रहेको कर्णालीले स्कृति भएको ४६ सेवा केन्द्र मध्ये ४१ वटा सेवा केन्द्रबाट सदस्यलाई सेवा प्रदान गर्दै आएको छ । 

२४ औं बार्षिक साधारणसभासम्म आइपुग्दा संस्थाको चुक्ता शेयर पुँजी ५१ करोड ९३ लाख ७५ हजार ७०० रुपैयाँ पुगेको अध्यक्ष टसबहादुर श्रेष्ठले कार्यक्रममा प्रस्तुत गरेको प्रतिवेदनमा छ । संस्थाका अध्यक्ष श्रेष्ठले २४ औँ अन्तिम माइन्युट प्रमाणीकरण सभामा वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

karnali 1

अध्यक्ष श्रेष्ठले प्रस्तुत गरेको प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८०÷०८१ को असार मसान्तसम्म ५६ हजार ४०९ जना शेयर सदस्य, २ अर्ब ७८ करोड ८३ लाख ९४ हजार ११० रुपैयाँ निक्षेप बचत, ३ अर्ब ७६ करोड ८० लाख ४८ हजार १५६ रुपैयाँ ऋण लगानीमा रहेको छ ।

संस्थाको कोषमा ५४ करोड ७७ लाख ६१ हजार ६१६ रुपैयाँ रहेको, जसमध्ये १७ करोड २४ लाख ९० हजार २२९ रुपैयाँ आवश्यक परेको समयमा निकाल्न सकिने र ३७ करोड ५२ लाख ७१ हजार ३७८ रुपैयाँ संस्थामा मौज्दात रहने अध्यक्ष श्रेष्ठको प्रतिवेदनमा उल्लेख छ । कोशी प्रदेशका तीनवटा जिल्ला झापा, मोरङ र इलामलाई कार्यक्षेत्र बनाएको संस्थाले साधारणसभा सम्बन्धी नीतिगत व्यवस्था अनुसार आफ्ना ४१ वटा सेवा केन्द्रहरुलाई ७ वटा इकाइमा विभाजन गरी कात्तिक २५ गतेदेखि इकाइगत साधारणसभा गरेको थियो ।

संस्थाका अध्यक्ष टसबहादुर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि कोशी प्रदेशका भौतिक, यातायात तथा पूर्वाधारमन्त्री भूमिप्रसाद राजवंशीले सहकारीका माध्यमबाट वेरोजगार युवालाई आत्मनिर्भर बनाउन जोड दिए ।

सोही कार्यक्रमकाबिच साकोसका लक्ष्मीपुर सेवा केन्द्रका मृतक सदस्यको परिवारलाई २ लाख रुपैयाँको चेक हस्तान्तरण गरिएको छ । मृतक नारायणप्रसाद यादबकी हकवाला श्रीमती ज्योती यादवलाई छोरा लक्ष्मी यादव मार्फत उक्त चेक हस्तान्तरण गरिएको थियो । संस्थाले यसअघि पनि यादवले लिएको ऋण मिनाहालगायत गरेर यो २ लाखसहित ५ लाख १३ हजार ९७२ रुपैयाँ प्रदान गरेको सचिव भूपाल बस्नेतलले जानकारी दिए । 

संस्थाका उपाध्यक्ष राजकुमार गौतमले स्वागत गरेको कार्यक्रममा झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकाल, झापा जिल्ला बचत तथा ऋण सहकारी संघका वरिष्ठ उपाध्यक्ष उपेन्द्रप्रसाद ओली लगायतले शुभकामना व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन सचिव भूपाल बस्नेतले गरेका थिए ।