बिर्तामोड ।
झापाको बिर्तामोड–४ मा मुख्य कार्यालय रहेको कर्णाली बचत तथा ऋण सहकारी संस्थाले दुई जना शेयर सदस्यलाई सहयोग गरेको छ । साकोसले मंगलबार धुलाबारीमा आयोजित इकाईगत साधारणसभामा जंगली हात्तीको आक्रमणबाट घाइते बनेकी मेचीनगरस्थित चारआलीकी संस्थाकी शेयर सदस्य भीममाया राई र बुद्धशान्ति–६ की उर्मिला तामाङका श्रीमान पदमबहादुर तामाङको सवारी दुर्घटनामा घाइते भएको भन्दै आर्थिक सहयोग गरेको हो ।
संस्थाको बिशेष उपचार कोषबाट भीममायालाई ६ लाख र उर्मिलालाई श्रीमानको उपचार खर्चवापत ३१ हजार ६०० रुपैयाँ सहयोग गरेको संस्थाका सचिव भूपाल बस्नेतले जानकारी दिए ।
संस्थाका अध्यक्ष टसबहादुर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा मेचीनगर–१३ का वडाध्यक्ष प्रलाद ओलीको प्रमुख आतिथ्य रहेको थियो । स्वागत संस्थाका उपाध्यक्ष रामकुमार गौतमले गरेको कार्यक्रमको सञ्चालन सचिव भुपाल बस्नेतले गरेका थिए । संस्थाको २४ औं बार्षिक साधारण सभा अन्तरगतको छैटौं इकाईगत साधारणसभा धुलावारीमा सम्पन्न भएको थियो । फिक्कल, हर्कटें, बुधबारे, चाराआली, धुलाबारी, इट्टाभट्टा र भृकुटी सेवाकेन्द्रको इकाई साधारणसभा संयुक्त रुपमा भएको हो ।
कार्यक्रममा अध्यक्षको प्रतिबेदन अध्यक्ष टसबहादुर श्रेष्ठ, लेखा सुपरिवेक्षण प्रतिबेदन लेखा संयोजक मनकुमार बेघा र कर्जा प्रतिबेदन कर्जा सदस्य सूर्यबहादुर कार्कीले प्रस्तुत गरेका थिए ।
झापा, इलाम र मोरङ गरी तीन जिल्ला कार्यक्षेत्र रहेको संस्थाको ४१ वटा सेवा केन्द्रबाट सेवा प्रदान गर्दै आएको छ । संस्थामा ५६ हजार शेयर सदस्य रहेको सचिव बस्नेतले बताए । संस्थाको २४ औं साधारणसभा अन्तरगतको अन्तिम अर्थात सातौं इकाईगत साधारणसभा बिहीवार भद्रपुरमा हुने साथै बिर्तामोडमा मंसीर १४ गते प्रतिनिधिमुलक अन्तिम माइन्यूट प्रमाणीकरण साधारणसभा हुने सचिव बस्नेतले बताएका छन् ।