बिर्तामोड ।
झापाको बिर्तामोडस्थित डोमालाल राजबंशी रंगशालामा प्रथम ‘बिर्तामोड झापा कप’ अन्तरास्ट्रिय नक आउट फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
झापा–११ फुटबल क्लबको आयोजनामा बिर्तामोड झापा कप फुटबल प्रतियोगिता आयोजना गरिने भएको हो । आगामी मंसिर २९ गतेदेखि पुष ८ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपाल र भारतका उत्कृष्ट १० टिमको सहभागिता रहने आयोजकले आज (सोमबार) बिर्तामोडमा पत्रकार सम्मेलन गरेर जनाएको छ ।
प्रतियोगितामा प्रतिष्पर्धा गर्ने टिमसँग समन्वय गर्ने काम भइरहेको आयोजक समितिका संयोजक केशबराज दाहालले जानकारी दिए । प्रतियोगिताको बिजेताले नगद १० लाख, आकर्षक ट्रफी तथा उपबिजेताले नगद ५ लाख रुपैयाँ र ट्रफी पाउने छन् छन् ।
लामो समयसम्म बी डिभिजन फुटबल प्रतियोगिता नहुँदा झापा फुटबल क्लबका खेलाडीहरुमा नैराश्यता उत्पन्न भएको क्लबले जनाएको छ । झापा ११ फुटबल क्लबको भगिनी संस्था झापा फुटबल क्लबका खेलाडीलाई आगामी प्रतियोगिताका लागि तयारी राख्नका लागि पनि प्रतियोगिता आयोजना गर्न लागिएको क्लबले जनाएको छ ।
प्रतियोगिता सम्पन्न गर्न ९३ लाख रुपैंयाँ खर्च हुने अनुमान आयोजकको रहेको छ । प्रतियोगिताबाट बचत भएको रकम झापा फुटबल क्लबका खेलाडीको उन्नयनमा खर्च गरिने जनाइएको छ ।
नेपालमै सबैभन्दा धेरै दर्शकले अवलोकन गर्ने दावी गरिएको झापा गोल्डकप प्रत्येक दुई बर्षमा आयोजना हुन थालेको छ । गतबर्ष छैटौ संस्करण सम्पन्न भएको प्रतियोगिता २०८२ सालमा हुनेछ ।
झापाका दर्शकको स्तरीय फुटबल प्रतियोगिता हेर्ने चाहनालाई मध्यनजर गर्दै यो प्रतियोगिता आयोजना गरिएको झापा ११ फुटबल क्लबका अध्यक्ष जलकुमार गुरुङले बताए ।