बिर्तामोड । 

 झापामा अपाङ्गता रोकथाम तथा पुनस्र्थापनाका लागि चालू आर्थिक वर्षमा साढे १२ करोड बढी रकम खर्च गरिने भएको छ । प्रदेश सरकार, स्थानीय तह र करुणा फाउण्डेशनको त्रिपक्षीय लागतमा झापाका १५ वटै पालिकामा आर्थिक वर्ष २०८१/०८२ मा  १२ करोड ५४ लाख १९ हजार छ सय १५ रुपैयाँ खर्च हुने भएको हो । अपाङ्गता रोकथाम तथा पुनस्र्थापना कार्यक्रमका लागि तीन वटै साझेदार निकायको समान चार करोड १८ लाख छ हजार पाँच सय ४३ खर्च हुनेछ ।

करुणा फाउण्डेशनद्वारा झापाको बिर्तामोडमा आज (बुधवार) आयोजित पत्रकारसँगको अन्तरक्रिया कार्यक्रममा फाण्डेशनका बरिष्ठ कार्यक्रम व्यवस्थापक कमल कोइरालाले तीन वर्षे कार्ययोजना बनाएर झापाका १५ वटै पालिकासँग सम्झौता गरेर कार्यक्रम सञ्चालन गरिएको बताए ।

आर्थिक र प्राविधिक सहयोग फाउण्डेशनले गरिहेको बताउँदै उनले कार्यान्वयन र व्यवस्थापकीय काम स्थानीय सरकारमार्फत् भइरहेको जानकारी दिए ।  जन्मजात तथा जन्म पश्चात हुने अपाङ्गता न्युनीकरण एवम् अपाङ्गता भएका व्यक्तिहरुसहितको समावेशी समाजको निर्माण गर्ने लक्ष्यका यो कार्यक्रम सञ्चालन भएको उनले बताए ।

राष्ट्रिय जनगणना २०७८ अनुसार झापामा २३ हजार नौ सय ८८ जना अपाङ्गता भएका नागरिक रहेका छन् । जसमध्ये शारीरिक अपाङ्गता भएका सात हजार आठ सय ५४, सुनाइ सम्बन्धी चार हजार दुई सय छ, बहुअपाङ्गता दुई हजार ९१, बौद्धिक अपाङ्गता चार सय ७९, दृष्टि सम्बन्धी पाँच हजार पाँच सय ४७, मानसिक एक हजार तीन सय ४५, स्वर र बोलाइ सम्बन्धी एक हजार छ सय ७९, अटिजसम्बन्धी एक सय ९०, श्रवणदृष्टिविहीन तीन सय ३६ र हेमोफिलिया एक सय ४४ जना रहेको फाउण्डेशनले जनाएको छ ।

जिल्लामा अपाङ्गता रोकथाम तथा पुनस्र्थापना कार्यक्रम शुरु हुनुभन्दा अघि १५ वटै स्थानीय तहमा नौ हजार पाँच सय ५९ जना अपाङ्गता भएका व्यक्तिको तथ्यांक रहेको थियो भने हाल १३ हजार तीन सय ६४ जना अपाङ्गता भएका व्यक्तिहरुको पहिचान भएको छ ।

अपाङ्गता रोकथाम तथा पुनस्र्थापना कार्यक्रम अन्तरगत मंसिर २ गतेदेखि झापाका सबै पालिकामा अपाङ्गता भएका व्यक्तिका लागि शिविर सञ्चालन गरिने भएको छ । उक्त शिविरमा स्वास्थ्य परीक्षण, सहायक सामग्री, कृतिम हातखुट्टाको नापजाँच, विद्यालय भर्ना, परिचय–पत्र वितरण गरिने बरिष्ठ कार्यक्रम व्यवस्थापक कोइरालाले बताए ।

कार्यक्रममा पत्रकार महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरीले लक्षित समुदायको हितमा बजेट खर्च गर्नुपर्नेमा जोड दिएका छन् । उनले सञ्चारमाध्यमको क्षेत्रबाट गर्नुपर्ने सहयोग र खबरदारीमा झापाली पत्रकारहरु रहेको बताउँदै जसका लागि बजेट आएको हो त्यस शिर्षकमा खर्च ह गर्नुपर्ने बताए । 

कार्यक्रममा राष्ट्रिय अपाङ्गता महासंघका केन्द्रीय सदस्य दीपक बोहोरा, महासंघका कोशी प्रदेश अध्यक्ष नविन ढुंगेल, फाउण्डेशनका झापा संयोजक सञ्जय शर्मा गुरागाँई, पालिका संयोजक सुरेन्द्र गिरी, सीबीआर अधिकृत स्नेहा खड्का लगायत झापाली पत्रकारहरुको बाक्लो उपस्थिति रहेको थियो ।