बिर्तामोड । 

झापाको बिर्तामोड– ४ मा मुख्य कार्यालय रहेको कर्णाली बचत तथा ऋण सहकारी संस्थाको उपाध्यक्षमा रामकुमार गौतम निर्वाचित भएका छन् । साकोसको सोमवार भएको उप–निर्वाचनबाट गौतम निर्वाचित भएका हुन् । 

साकोसको बिर्तामोड, उर्लाबारी, दमक, चारआली, गुरुङ्गा  र भद्रपुर गरी ६ स्थानमा भएको उप–निर्वाचनबाट गौतम २४८९ मतसहित उपाध्यक्षमा निर्वाचित भएका हुन् । 

उपाध्यक्ष पदका लागि चारजनाले उम्मेद्वारी दिएका थिए । उनका प्रतिष्पर्धीहरु गणेशप्रसाद पराजुलीले १९४, गुञ्जन थापाले १६० र धर्मप्रसाद काफ्लेले ६९ मत ल्याएका छन् । त्यस्तै लेखा समितिको सदस्यमा पदमकुमार श्रेष्ठ निर्विरोध निर्वाचित भएका साकोसका सचिव भूपाल बस्नेतले जानकारी दिए । 

ती दुई पदका लागि उपनिर्वाचन गराइएको थियो । निर्वाचन गराउन अधिवक्ता सुरज खत्री , सहकारी अभियन्ता डिल्ली दाहाल र नरबहादुर बस्नेत रहेको निर्वाचन समिति निर्माण गरिएको थियो । सचिव बस्नेतले उप–निर्वाचनबाट निर्वाचित गौतम र श्रेष्ठलाई कार्यकालको शुभकामना दिदै उप–बिजेताहरुलाई आगामी दिन सफलताको कामना गरेका छन् । त्यस्तै निर्वाचनका क्रममा अहोरात्र खटिने निर्वाचन समिति र कर्मचारीहरुलाई धन्यवादसमेत दिएका छन् । 

गत पुष ४ गते भएको निर्वाचनमा अध्यक्षसहित १२ जना निर्विरोध निर्वाचित भएका थिए ।