हल्दीबारी । 

झापा हल्दीबारी–२ कि क्यान्सर रोगी ५५ वर्षीय कुमारी पहारीले आफूलाई बचाइदिन सवै समक्ष अपिल गरेकी छिन् । आर्थिक अवस्था एकदमै कमजोर भएकी कुमारीको आन्द्रामा क्यान्सर भएको र उपचार खर्च नहुँदा उपचारबाट समेत बन्चित भएको बताउँदै आर्थिक सहयोग गरेर जीवन बचईदिन अपिल गरेकी हुन् । 

गंगामाया नरबहादुर बस्नेत क्यान्सर पीडित संस्था बिर्तामोड–४ ले पिडीतको घरमा पत्रकार सम्मेलन गरेर क्यान्सर पीडित पहारीको उपचारका लागि आर्थिक सहयोग गरिदिन सवै समक्ष आग्रह गरेको छ । 

संस्थाका अध्यक्ष भूपाल बस्नेतले सबैले साथ र सकेको आर्थिक सहयोग गरे उनको जीवन बाँच्न सक्ने भएकोले सहयोग गर्न अनुरोध गरेका छन् । 

संस्थाका अध्यक्ष भुपाल बस्नेतले क्यान्सर रोगबाट नै आफुले बुवाआमा गुमाएको बताउँदै यस्ता बिरामीहरूको सेवा नै आफ्नो पहिलो कर्तव्य भएकोले सबैले सहयोग गर्न अनुरोध गरे । चार छोरी र दुई छोराकी आमा कुमारी विगत केही समयदेखि क्यान्सर रोगबाट थलिएकी हुन् । 

सुरुमा पेट दुख्ने र ग्यास्टिकको समस्या भएको अनुमान गरी मेची अस्पतालमा उपचार गराएकी पहारीले धरानको बीपी प्रतिष्ठानमा उपचार गराउँदा क्यान्सर रोग लागेको पत्ता लागेको बताइन् ।  हाल पैसा अभावमा उपचार गर्न नसकिएको उनले सुनाइन् । 

७१ वर्षीय श्रीमान रामबहादुर पहारीले आर्थिक नहुँदा श्रीमती गुमाउनु पर्ने अवस्था आएकोले सवैले सकेको सहयोग गरेर कुमारीको ज्यान बचाईदिन अपिल गरे । 

मजदुरी र अर्काको जग्गा अधिया कमाउँदै जीवीको पार्जन गर्दै आएका पहारी परिवारले कुमारीको उपचारमा भएको सम्पत्ती सकिएको र घरमा खाने अन्नपातसमेत नभएको छिमेकीहरूले बताएका छन् ।  उनलाई सहयोग गर्न चाहनेले उनको हल्दीबारीस्थित सिटिजन बैंक को खाता नम्बर 063100000631010 मा सहयोग गर्न सकिनेछ ।