धाइजन। 

झापाको बिर्तामोड–४ मा मुख्य कार्यालय रहेको शिक्षा बहुउद्देश्यीय सहकारी संस्थाको १२ औं वार्षिक साधारण सभा अन्तरगत आज सदस्य सेवा केन्द्र दुहागढीको इकाइगत साधारण सभा सम्पन्न भएको छ ।

इकाइगत साधारणसभामा संस्थाका अध्यक्ष सुब्रत न्यौपानले वार्षिक प्रगति प्रतिवेदन, लेखा समिति सदस्य लक्ष्मी देवानले लेखा समितिको प्रतिवेदन र ऋण उपसमिति संयोजक हेमराज मिश्रले ऋण उपसमितिको प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा संस्थाका शेयर सदस्यहरुले संस्थाका गतिविधिका बारेमा जिज्ञासासमेत राखेका थिए ।

कार्यक्रममा चार जना सदस्यलाई सम्मान गरिएको थियो । उत्कृष्ट कर्जा कारोबारकर्ता उदयकुमार रानामगर, उत्कृष्ट आवधिक बचतकर्ता कान्छी राजवंशी, उत्कृष्ट साधारण बचतकर्ता हीरामणि राजवंशी र उत्कृष्ट शिक्षा बचतकर्ता योजिना भुजेललाई सम्मान गरिएको थियो । उनीहरुलाई संस्थाका सल्लाहकार संयोजक सावित्रीकुमारी लिम्बू, सल्लाहकार सदस्यद्वय घनश्याम मिश्र, ओमप्रकाश खरेल, संस्थाका अध्यक्ष सुब्रत न्यौपाने लगायतले सम्मान पत्र प्रदान गरेका थिए । 

आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि ४ करोड ९६ लाख ४६ हजार ७७६ रुपैयाँको आय–व्यय प्रस्तुत गरिएको कार्यक्रममा संस्थाले विभिन्न सात वटा व्यावसायिक परियोजना सञ्चालनमा ल्याउने प्रस्ताव गरिएको छ ।

आव २०८०/०८१ को असार मसान्तसम्मको संस्थाको शेयर पुँजी ३ करोड ५५ लाख १० हजार ३ सय, कोष हिसाब २ करोड २० लाख १ हजार ६९ रुपैयाँ ४७, बचत संकलन १८ करोड ५१ लख ४१ हजार ४ सय रुपैयाँ २२, १८ करोड २० लाख ५ हजार ८ सय ८३ रुपैयाँ ५९ पैसा ऋण लगानी रहेको छ ।

संस्थाका सचिव सूर्यकुमार खतिवडाले सञ्चालन गरेको कार्यक्रमको स्वागत सञ्चालक समिति सदस्य चिजा राईले गरेकी थिइन् । कार्यक्रममा सञ्चालक समिति सदस्य लक्ष्मीप्रसाद घिमिरे, रोहित काफ्ले, रुपामाया प्रधान, व्यवस्थापक तीर्थराज तिम्सिना, सेवा केन्द्र प्रमुख विपना तिम्सिना लगायतको उपस्थिति रहेको थियो ।

संस्थाको इकाइगत साधारणसभा अन्तरगत भोलि ११ गते सदस्य सेवा केन्द्र शनिश्चरेको पितृ भवनमा हुनेछ । संस्थाको असोज ९ गतेदेखि शुरु भएको इकाइगत साधारण सभा १६ गतेसम्म हुनेछ भने अन्तिम माइन्युट प्रमाणीकरण भेला १६ गते बुधबार बिर्तामोडस्थित अग्रसेन भवनमा हुने जनाइएको छ ।