बिर्तामोड । 

झापाको बिर्तामोडमा सञ्चालित ’बिर्तामोड चिल्ड्रेन हस्पिटल’ ले सञ्चारकर्मी तथा उनका आफन्तको उपचारमा बिषेश सहुलियत प्रदान गर्ने घोषणा गरेको छ । तेस्रो बार्षिकोत्सबको अवसरमा बिर्तामोडमा आज (बिहीवार) आयोजित एक कार्यक्रममा हस्पिटलका अध्यक्ष लीला मैनालीले समाजको अभिन्न अंग सञ्चार क्षेत्र र सञ्चारकर्मीका परिवारलाई उपचारमा सहुलियत प्रदान गर्ने बताएकी हुन् । 

हस्पिटलले एक बर्षको अवधिमा २१७७ जनाको उपचार गरेको जनाएको छ । २०७९ असोज १० गतेदेखि सेवा प्रारम्भ गरेको हस्पिटलले गत एक बर्षको अवधिमा २ हजार १७८ जना बिरामीलाई भर्ना गरी उपचार गरेकोमा १ जना बिरामीको मृत्यु भएको जनाएको छ । सफल उपचार भएको बिरामीको संख्या ९९ दशमलब ९ प्रतिशत रहेको हस्पिटलका प्रबन्ध निर्देशक डा रुपक आचार्यले जानकारी दिए ।

bal aspatal

गत वर्ष हस्पिटल २७५९ जनालाई ओपिडी र १०७४ जनालाई इमर्जेन्सी सेवा दिएको डा. आचार्यले बताए । भर्ना भएका मध्ये ३ प्रतिशत बिरामीलाई मात्र आइसीयुमा राख्नु परेको पनि उनले जानकारी दिए ।

हस्पिटलले अत्याधुनिक जापानिज प्रविधिका उपकरणसहित इको र इसिजीको सेवा २४ सै घण्टा उपलब्ध गराइरहेको उनले बताए । अस्पतालमा अधिकांश एक बर्ष मुनिका नवजात शिशु आउने भएकाले उपचार प्रक्रियामा अत्यन्तै संवेदनशिल हुनु पर्ने उनले बताए । हस्पिटलले बालबालिकामा देखा पर्ने मेनेन्जाईटिस, मुटुको रोग, अक्सिजनको कमी, बाथ रोग, मृगौला रोग लगायतका जटिल रोगहरुको समेत सफल उपचार गर्नुका साथै अटिजमसमेत पहिचान गरिरहेको डा. आचार्यले बताए । 

एक वर्षको अवधिमा हस्पिटलले सेवाग्राहीलाई २४ लाख २४ हजार ३९० रुपैयाँ छुट सुविधा दिएको प्रमुख कार्यकारी अधिकृत डा. सुजता मैनाली आचार्यले जानकारी दिइन् ।

दक्ष जनशक्ति विदेश पलायन भइरहेको, बिरामी उपचारका लागि कष्ट व्यहोरेर अन्यत्र जानु परिरहेको परिस्थितिलाई मध्यनजर गरी आफ्नै ठाउँमा अस्पताल खोलेर सेवा दिनुका साथै रोजगारीसमेत सिर्जना गरौँ भन्ने उद्धेश्यले बाल अस्पताल सञ्चालन गरिएको अध्यक्ष मैनालीले बताइन् ।

स्वागत हस्पितलकी प्रमुख कार्यकारी अधिकृत डा. सुजता मैनाली आचार्यले गरेको कार्यक्रममा नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, नमुना टोल बिकास समितिका अध्यक्ष बिजयकुमार बुढाथोकीलगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा समाजसेवी पार्वता गिरी, राजेन्द्र मैनाली, सुजता मैनाली, संस्थापक संरक्षक प्रेमा आचार्य, दीपक आचार्यलगायतको आतिथ्य रहेको थियो । कार्यक्रमको सञ्चालन सञ्चारकर्मी लीला अनमोलले गरेकी थिइन् ।