शनिश्चरे । 

झापाको अर्जुनधारा नगरपालिकाले शनिश्चरे नगर अस्पताललाई स्वास्थ्य उपकरण हस्तान्तरण गरेको छ । नगरले आज (बिहीवार) अस्पतालमा आयोजित एक समारोहकाबिच नगर अस्पताललाई आवश्यक मेडिकल सामाग्री प्रदान गरेको हो । 

नगरपालिकाका नगर प्रमुख बलदेवसिंह गोम्देन तामाङले अस्पतालका डा. योगेश चेम्जोङलाई मेडिकल करिव ७६ लाख मूल्य बराबरका स्वास्थ्य उपकरण एवम् सामाग्री हस्तान्तरण गरेका हुन् । 

नगरले डेलिभरी बेड, इसीजी मेशिन, फोटो थेरापी मेशिन, प्यासेन्ट बेड, एक्सरे मेशिनलगायतका सामाग्री अस्पताललाई प्रदान गरेको छ । नगर प्रमुख बलदेवको पहलमा संघीय सरकारले उपलब्ध गराएको सामाग्री अस्पताललाई हस्तान्तरण गरिएको बताइएको छ ।

arjundhara aspatal 

नगर प्रमुख बलदेवले मेडिकल सामाग्री हस्तान्तरण गर्दै अस्पतालमा गुणस्तरीय सेवा प्रदान गर्न आग्रह समेत गरेका छन् । उनले अस्पतालमा गुणस्तरीय सेवा मात्र नभएर स्वास्थ्य सम्बन्धी जनचेतना मुलक सन्देशसमेत प्रवाह गर्न अस्पताल प्रशासनलाई आग्रह गरेका छन् । अस्पतालमा जसको जिम्मेवारी जे हो त्यहि अनुसारको कार्य सम्पादन गर्न नगर प्रमुख बलदेवले सुझाव दिएका छन् । 

गत असार २६ दिन आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम तथा बिस्तारित शल्यक्रिया सेवा शुरु पछि पहिलो प्रसुति सेवा लिने अर्जुनधारा–८ का राज, शिवानी पूर्वे र उनीहरुको शिशु प्रथम पूर्वेलाईसमेत सोही कार्यक्रमकाबिच सम्मानसहित स्वास्थ्य सामाग्री वितरण गरिएको थियो । 

सोही कार्यक्रमकाबिच अस्पतालले आर्थिक बर्ष २०८०÷०८१ बिभिन्न सेवा अन्तरगत मा ३ लाख ३५ हजार ३९५ जनालाई सेवा प्रदान गरेको अस्पतालका अभिलेख शाखा प्रमुख किरणकुमार खरेलले जानकारी दिएका थिए । उनका अनुसार यस चालु आर्थिक बर्षको २ महिनाको अवधि अर्थात भदौ मसान्तसम्म ७८ हजार ६६७ जनाले बिभिन्न सेवा लिएका छन् । 

नगर प्रमुख बलदेवको अध्यक्षतामा भएको कार्यक्रममा नगरको अवस्थाका बारेमा जानकारी गराउँदै स्वागत अस्पतालका मुख्य डा. योगेश चेम्जोङले गरेका थिए । कार्यक्रममा अस्पताल ब्यवस्थापन समितिका सदस्य कृष्ण बरालले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा स्त्रीरोग बिशेषज्ञ डा। दिप्ती कुँवर, अर्जुनधारा ११ का वडाध्यक्ष खगेन्द्र इङनामलगायतको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन अस्पतालका प्रशासन प्रमुख राजबिक्रम खड्काले गरेका थिए ।