बिर्तामोड ।

बिर्तामोड नगरपालिकाले डेंगु रोग नियन्त्रणका लागि अभिमुखिकरण कार्यक्रम गरेको छ । नगरपालिकाको सभाहलमा आज (शुक्रबार) स्वास्थ्य कार्यालय झापा र सहारा नेपाल विश्वास परियोजनाको प्राविधिक सहयोगमा अभिमुखिकरण कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रममा बोल्दै नगरप्रमुख पवित्रा महतारा प्रसाईले संक्रमण नियन्त्रणका लागि सबैले आ–आफ्नो क्षेत्रबाट जुट्नु पर्ने बताए । वडा कार्यालय तथा टोलविकास संस्थाहरुसँगको समन्वयमा जनचेतनामुलक, रोकथाम तथा नियन्त्रणका कार्यक्रमलाई तत्काल अघि बढाइने बताए।

बिर्तामोडमा डेंगु संक्रमितको संख्या ९८ जना पुगेको छ ।यसमध्ये वडा नम्बर ४ का एक बालकको मृत्यु भएको स्वास्थ्य शाखा बिर्तामोडका सिनियर अहेब दिपक सापकोटाले जानकारी दिए ।

स्वास्थ्य कार्यालय झापाका ल्याब टेक्निसियन निरीक्षक युवनाथ बरालले डेंगुको महामारी अघिल्लो वर्षको तुलनामा यस वर्ष कमी आएको बताए । उनका अनुसार झापामा १ सय ४७ जनामा संक्रमण देखिएको छ । त्यसमध्ये बिर्तामोड र दमकमा बढी छ ।

कार्यक्रममा इन्सेफ्लाइटिसको जोखिमका विषयमा पनि जानकारी गराईएको छ ।स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत प्रकाश पाठकका अनुसार झापामा ४ जनामा इन्सेफ्लाइटिसको संक्रमण देखिएको छ । जसमध्ये मेचीनगरका १ जनाको मृत्यु भइसकेको छ । डेंगु परिक्षणमा ६ सय रुपैयाँ भन्दा बढि शुल्क लिन नपाइने भएकोले नगरपालिकाले सबै स्वास्थ्य संस्थाहरुलाई सचेतसमेत गराएको छ ।

अभिमुखिकरण कार्यक्रममा नगर उपप्रमुख नगेन्द्र प्रसाद संग्रौला, प्रमुख प्रशासकीय अधिकृत राधाकृष्ण खतिवडा, उपसचिब तिलचन भण्डारी, नगर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट  डा.सुनिल अधिकारी, सञ्जीवनी  हार्ट हस्पिटलका डा. सिपी यादब, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीलगायत विर्तामोड उद्योग वाणिज्य संघ, बिर्तामोडका विभिन्न अस्पताल र स्वास्थ्य संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।