झापा । 

हास्य कलाकार सुलेमान शंकर (इकु) बिरुद्ध चार जनाले जाहेरी दिएका छन् । इकुलाई पक्राउ गरेर नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अनुसन्धान गरिरहेको छ ।

 विदेशमा हुने सांस्कृतिक कार्यक्रमहरुमा सर्वसाधारणलाई कलाकारका रुपमा क्यानडा, अष्ट्रेलिया तथा युरोपका विभिन्न देशहरुमा लैजाने भन्दै रकम लिएको र कतिपयलाई नपठाएको पाइएको सीआईबीले जनाएको छ । 

इकुविरुद्ध अहिलेसम्म चार जनाले सीआईबीमा जाहेरी दिएका छन् । जसमा दुई जनाले समान साढे २ लाख रुपैयाँ ठगी गरेको दाबी गरेका छन् । एक जनाले ४ लाख र अर्का एक जनाले ९ लाख रुपैयाँ ठगी भएको दाबी गरेका छन् ।

अन्य चार जनाले भने फोन गरेर आफूहरु पनि ठगिएको जानकारी गराएको तर जाहेरी दिन नआएको जनाउँदै सीआईबिले अन्य कोही व्यक्ति पनि ठगिएको भए जाहेरी आव्हान गरेको छ । 

इकुलाई ठगीको कसुरमा अनुसन्धानका लागि ७ दिन हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतबाट अनुमति लिइएको छ । सीआईबीका निर्देशक तथा एआईजी दीपक थापाका अनुसार अहिले पनि इकुको खातामा ६० लाख रुपैयाँ बढी रकम भेटिएको छ ।

मंगलबार पक्राउ गरेर अनुसन्धान गर्दा इकुले गैर कलाकारलाई कलाकारका रुपमा विदेश लैजाने गरेको खुलेको सीआईबीले जनाएको छ । 

ठगी मात्रै नभएर मानव बेचबिखन पनि हुनसक्ने भन्दै प्रहरीले अनुसन्धान गरिरहेको छ । गैर कलाकारलाई कलाकार बनाएर मानव बेचबिखन तथा ओसारपसारको कसुर गरेको हुनसक्ने आशंकामा पनि अनुसन्धान अघि बढाइएको सीआईबीको भनाइ छ । उनले नक्कली भिसा र टिकटसमेत देखाउने गरेको पाइएको सीआईबीको भनाइ छ ।