बिर्तामोड । 

झापाको अर्जुनधारास्थित शनिश्चरे अस्पतालमा फुड पोइजनका बिरामीको संख्या बढेको छ । बुधबार डिस्चार्ज भएका ५२ जनामध्ये ४९ जना पुन अस्पताल भर्ना भएका छन् ।

बिहीबार नयाँ र पुराना गरी ७४ जना विरामी भर्ना भएको अर्जुनधारा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सन्तोष चिमरियाले जानकारी दिए । ६ देखि ७७ वर्ष सम्मका बिरामी रहेको उनले बताए । 

बिरामीहरुमा १०४ डिग्रीसम्म ज्वरो आउने, वान्ता हुने, पखाला लाग्ने समस्या भएको उनले जानकारी दिए। १५ शैयाको शनिश्चरे अस्पतालमा जनशक्ति तथा पूर्वाधार अभाव भएको साथै १० वर्षभन्दा कम र ७० वर्षभन्दा माथिका बिरामीलाई जटिलता आउने सम्भावना हुने भएकाले ३१  जनालाई मेची प्रादेशिक अस्पताल रेफर  गरिएको छ ।  उनका अनुसार बिरामीलाई जटिलता आए अन्यत्र लैजान ३ वटा एम्बुलेन्स तयारी अवस्थामा राखिएको छ । 

अस्पतालमा नगर प्रमुख बलदेवसिंह गोम्देन तामाङ , उपप्रमुख खडुगमाया पराजुलीसहित प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्टोलाको पनि उपस्थित रहेको उनले जानकारी दिए । मङ्गलबार अर्जुनधारा–९ स्थित रिता निरौलाको घरमा पूजाको प्रसाद खाएका उनीहरुलाई फुड पोइजनको समस्या भएको थियो ।