चारपाने । 

झापाको बिर्तामोड–२ स्थित सोमबारेमा ‘झापा जिल्ला स्तरीय सोमवारे नकआउट फुटवल प्रतियोगिता’ आयोजना हुने भएको छ । सोमबारे योङ स्टार क्लबको आयोजनामा असोज ७ देखि १३ गतेसम्म प्रतियोगिताको तयारी गरिएको आज (मंगलबार) सोमवारेमा पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो । 

१२ वटा टिमको सहभागीता रहने प्रतियोगिताका लागि अनुमानित ६ लाख रुपैयाँ खर्च हुने आयोजक सोमबारे योङ स्टार क्लबका अध्यक्ष उमेश राईले जानकारी दिए । 

प्रतियोगितामा आयोजक टिम सोमवारे योङ स्टार एफसी, राजगढ एफसी, जलथल एफसी, सैैनिक एफसी, चन्द्रगढी एफसी, बुट्टाबारी एफसी, बिर्तामोड युनाइटेड, शनिश्चरे एफसी, अर्जुनधारा एफसी, कनकाई स्पोटिङ क्लव, शिवसताक्षी एफसी, घैलाडुब्बा एफसीको सहभागीता रहने आयोजकले जनाएको छ । 

प्रतियोगितामा बिजयी टिमलाई नगद ५१ हजार र उपबिजेता टिमलाई नगद २५ हजार ५०० रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने आयोजक संस्थाका सचिव माधव खरेलले बताए । 

सोमबारे बालबिकास केन्द्रको खेलमैदानमा हुने प्रतियोगितामा बिभिन्न बिधागत नगद पुरस्कार र ट्रफीसमेत प्रदान गरिने आयोजक संस्थाले जनाएको छ ।  सोमवारे क्षेत्रका बिदेशमा रहेका दाजुभाई तथा दिदिबहिनी, खेलप्रेमी, स्थानीयबासी र बिर्तामोड–२ वडा कार्यालयको आर्थिक सहयोगमा प्रतियोगिता आयोजना गरिएको आयोजक संस्था सोमबारे योङ स्टार क्लबका सचिव खरेलले जानकारी दिए । 

उनका अनुसार प्रतियोगिताबाट केही रकम बचत गरेर उज्यालो सोमवार अन्तरगत सडकबत्ती जडान गरिनेछ । क्लबका अध्यक्ष राईको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा बिर्तामोड–२ का वडाध्यक्ष किशोरकुमार पौडेलको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि पौडेलले प्रतियोगिताको लागि सक्दो सहयोग गर्ने प्रतिवद्धता गरेका छन् । 

पत्रकार सम्म्ेलनमा सामाजिक ब्यक्तित्व तथा खेलप्रेमी धर्मा लक्सम्वा, क्लवका कोषाध्यक्ष बुधराज बेघालगायतको आतिथ्य रहेको थियो ।