झापा  । 

झाडापखाला लागेको समयमा शरीरमा पानीको कमीका कारण एकैपरिवारका तीनसहित चार जनाको मृत्यु भएको पुष्टि भएको छ । स्वास्थ्य कार्यालय बाँकेका सूचना अधिकारी एवं महामारी रोगका ‘फोकल पर्सन’ नरेन्द्र श्रेष्ठका अनुसार नरैनापुर गाउँपालिका–३ स्थित गेग्ली गाउँमा एकै परिवारका एक बालकसहित चार जनाको झाडापखालाको समयमा शरीरमा पानीको कमी भएकाले मृत्यु भएको हो ।

मृतकका परिवारले स्वास्थ्यकर्मीलाई दिएको रोगको लक्षणका आधारमा जिल्ला स्वास्थ्य कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनका अनुसार झाडापखालाका कारण शरीरमा पानीको मात्रा कमी हुनाले ७२ घण्टामा चार जनाको मृत्यु भएको फोकल पर्सन श्रेष्ठले जानकारी दिए । 

 मृतकका आफन्तका अनुसार मृतक चारैजनालाई झाडापखाला भएको समयमा जीवनजललगायत अन्य झोलिलो पिउने पदार्थको अभाव भएको थियो । गत भदौ १४ गतेदेखि फैलिएको झाडापखाला महामारीका रुपमा भने नरहेको स्वास्थ्य शाखाले जनाएको छ । नरैनापुर–३ स्थित गेग्लीका श्यामलाल पासीको घरमा पहिलोपटक झाडापखालाको सङ्क्रमण देखिएको थियो । 

स्वास्थ्य शाखाका अनुसार ज्वरो आउने, पेट दुख्ने, टाउको दुख्ने र एकदिनमा तीनदेखि चार पटकसम्म पातलो दिसा भएकाले शरीरमा पानी अपुग हुन गई पासीको एकै घरका तीन जनाको मृत्यु भएको हो ।

स्वास्थ्य शाखा प्रमुख शाहले मृतकलाई आफन्तले बिरामी हुँदा भारतीय क्लिनिकमा उपचार गराएको र सोही क्रममा मृत्यु भएको जानकारी दिए । मृत्यु भएपछि मात्रै जिल्ला स्वास्थ्य कार्यालयलाई जानकारी प्राप्त भएको उनले बताए ।

गेग्लीमा एकैदिनमा झाडापखालाबाट एकै परिवारका ७५ वर्षीय शान्ति पासी, उनकी २६ वर्षीया बुहारी उषा पासी र सोही परिवारकी एक वर्षकी नाबालिकाको क्रमशः भदौ १४, १५ र १६ गते मृत्यु भएको हो ।  उनले एकैदिन तीन जनाको मृत्यु नभएको जानकारी दिए । स्वास्थ्य शाखाले मृतकका आफन्तले परिवारको लापरबाहीका कारण चार जनाको ज्यान गएको जनाएको छ ।