सिरहा ।

 सिरहामा दुई लघुवित्त संस्थामा महिला समूहले आगजनी गरेका छन् । गोलबजार नगरपालिका–७ स्थित सिर्जनशील लघुवित्त र जीवन विकास लघुवित्त चोहर्वा शाखामा महिला समूहले मंगलबार आगजनी गरेको हो । 

आगजनीले कार्यालयका कागजात तथा कम्प्युटर, ल्यापटप, मोबाइलजस्ता उपकरण जलेर नष्ट भएका छन् । २० जनाको समूहमा आएका महिलाहरूले सिर्जनशील लघुवित्तको कार्यालयभित्रै ल्यापटप दुई थान र टेबलमा भएका सम्पूर्ण कागजात नियन्त्रणमा लिएर जलाएको संस्थाका अध्यक्ष राजकुमार श्रेष्ठले जानकारी दिए । 

उनका अनुसार दुईरतीन जनाका दरले ग्राहकजस्तै भएर आएका महिलाले एक्कासी कागजात र ल्यापटप नियन्त्रणमा लिएर जलाएका थिए । यसैगरी जीवन विकास लघुवित्तमा पनि दुई वटा डेक्सटप कम्प्युटर कामै नलाग्नेगरी फुटाइएको र विभिन्न कागजात नियन्त्रणमा लिइएको बताइएको छ । 

लघुवित्त तथा वित्तीय शोषणविरूद्धको संघर्ष समिति, नेपालले घटनाको जिम्मा लिएको छ । सरकार र संघर्ष समितिको कार्यदलले बनाएको प्रतिवेदन लघुवित्तले कार्यान्वयन नगरेकाले आफूहरू संघर्षमा जान बाध्य भएको उक्त समितिका मधेस प्रदेश अध्यक्ष अर्जुन विश्वकर्माले जानकारी दिए । 

उनले भने, ‘अर्थ मन्त्रालय, राष्ट्र बैंकका प्रतिनिधि र संघर्ष समितिले मिहेनत गरेर बनाएको प्रतिवेदन कार्यान्वयन भएन । पीडितहरूले पीडा खप्न नसकेपछि आजको कारबाही भएको हो ।’ आगलागीमा संलग्न रहेको आरोपमा करिब १० जना महिलालाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख प्रहरी निरीक्षक सुनिल कार्कीले बताए ।