झापा । 

झापाका १२ वटा स्थानीयतहमा १५ शैयाको अस्पताल सञ्चालनमा रहेका छन् । १५ वटा स्थानीय तह रहेको झापामा १२ वटा पालिकाले आफ्नै अस्पताल सञ्चालन गरेका हुन् । 

पालिकाले आफैले सञ्चालन गरेका अस्पतालमा आपतकालीन, प्रसुति, प्रयोगशाला र अल्ट्रासाउन्डलगायतका सेवा उपलब्ध छन् ।

दमक, विर्तामोड र अर्जुनधारामा नगरक्षेत्रभन्दा बाहिर समेत सेवा दिनेगरी बढी क्षमताको अस्पताल सञ्चालनमा छन् । कनकाई, गौरादह, मेचीनगर नगरपालिकामा नगर अस्पताल सञ्चालन भइरहेका छन् भने बुद्धशान्ति, हल्दिबारी, कमल, बाह्रदशी, झापा र गौरीगञ्ज गाउँपालिकामा आधारभूत अस्पतालमार्फत पालिकाबासीले स्वास्थ्योपचार सेवा पाइरहेको स्वास्थ्य कार्यालय झापाका सूचना अधिकारी चुडामणि लुइँटेलले बताएका छन् । 

कचनकबल गाउँपालिका र शिवसताक्षी नगरपालिकामा प्राथमिक स्वास्थ्य केन्द्र सञ्चालनमा छन् । ती पालिकाले आधारभूत अस्पताल सञ्चालनका लागि तयारी गरिरहेको जनाएका छन् ।

जिल्लाको पुरानो सदरमुकाम भद्रपुर नगरपालिकामा सुविधासम्पन्न प्रादेशिक अस्पताल छ भने विर्तामोड, दमक, भद्रपुर, मेचीनगर र कनकाईमा निजी क्षेत्रका ठूला अस्पताल छन् ।