झापा । 

युवकको मृत्यु भएपछि धनगढीको नोभा अस्पतालमा तनाब भएको छ । १७ वर्षीय युवक नसिब चौधरीको मृत्युको विषयलाई लिएर अस्पतालमा तनाव सिर्जना भएपछि भीड नियन्त्रण गर्न प्रहरीले अश्रुग्यास प्रयोग गरेको छ । 


सामान्य अवस्थामा ल्याइएका कञ्चनपुर बेलौरीका चौधरीको अस्पतालको लापरवाहीका कारण मृत्यु भएको भन्दै आक्रोशित आफन्तले ढुंगामुढा प्रहार गर्दै तोडफोड गर्न खोजेका छन् ।


प्रहरीले स्थिति नियन्त्रणमा लिन तीन राउण्ड अश्रुग्यास प्रहार गरेको छ ।  अस्पताल बाहिर भेला भएको समूहले ढुंगामुढा गर्न थालेपछि स्थिति नियन्त्रणमा लिन अश्रुग्यास प्रहार गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 


अश्रुग्यास प्रहार गरेपछि अहिले उनीहरु तितरबितर भएका छन् भने अस्पतालले मृतकका आफन्तसँग वार्ता गरिरहेको छ । जन्डिसको समस्या लिएर ७ साउनमा अस्पताल भर्ना भएका चौधरीको शुक्रबार दिउँसो ३ बजे मृत्यु भएको थियो ।


मृतकका आफन्तका अनुसार शुक्रबार अवस्था जटिल बनेपछि मात्र अस्पतालले नेपालगञ्ज वा भारतको बरेली लैजान भनेको थियो । दिउँसो साढे ३ बजे नेपालगञ्ज लैजान एम्बुलेन्समा राख्ने क्रममा चौधरीको मृत्यु भएको थियो ।


आफन्तले अस्पतालको लापरवाहीका कारण उनको मृत्यु भएको भन्दै शव बुझ्न मानेका छैनन् भने डाक्टरलाई कारवाही र क्षतिपूर्तिको माग गरेका छन् । अस्पताल प्रशासनले शुक्रबार साँझदेखि मृतकका आफन्तसँग वार्ता गरेपनि कुरा मिल्न नसकेको बताइएको छ ।