बिर्तामोड । 

स्नुकर नेपाल मास्टर्सको उपाधि हेटौंडाका सोम लामाले जितेका छन् । बिर्तामोड स्नुकरको आयोजनामा गत असार १५ गतेदेखि शुरु भएको राष्ट्रिय स्तरको स्नुकरको उपाधी लामाले हात पारेका हुन् । प्रतियोगिताको उपाधिसँगै लामाले नगद २ लाख रुपैयाँसहित ट्रफी हात पारेका छन् ।

झापाको बिर्तामोडमा आज (बिहीवार) भएको फाइनल खेल पछिको पुरस्कार वितरण कार्यक्रममा प्रमुख अतिथि कोशी प्रदेशका सामाजिक विकास राज्य मन्त्री सिर्जना राईले लामासहित विजेता खेलाडीहरुलाई नगद र ट्रफी प्रदान गरिन् ।

स्नुकर नेपाल मास्टर्स प्रतियोगितामा काभ्रेका वाङ्चु आले तामाङ उपबिवेतासँगै  हायसब्रेकर भए । उनले द्वितीय पुरस्कार ८० हजार र हायस ब्रेकरको पुरस्कार ५० हजार नगद र ट्रफी प्राप्त गरे । त्यस्तै, सेमी फाइनलिस्टमा बुटबलका रेगन श्रेष्ठ र पोखराका सोम विश्वकर्माले  नगद २०/२० हजार रुपैयाँ पुरस्कार पाए ।

snooker

बिर्तामोड स्नुकरका सञ्चालक खेम बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि राज्य मन्त्री राईले नेपालमा पहिलो पटक ठूलो पुरस्कार राशीको स्नुकर खेल हुनुले कोशी प्रदेशकै गौरव बढेको बताइन् ।

खेलकूदले बौद्धिक विकासका साथै सामाजिक र शारीरीक रुपमा फाइदा पुग्ने बताउँदै उनले सरकारले स्नुकर खेलको विकासका लागि सकेको सहयोग गर्ने आश्वासन दिइन् ।

कार्यक्रममा बिर्तामोड क्षेत्रमा स्नुकर खेल भित्र्याउने सञ्जय राई, स्नुकर भेट्रान खेलाडी चित्रप्रकाश राई, रेजिना पाण्डे, बिर्तामोड खेलकुद विकास समितिका सदस्य विशाल अग्रवाल लगायतको आतिथ्य रहेको थियो । कार्यक्रमको सञ्चालन बिर्तामोड स्नुकरकी आशा गुरुङले गरेकी थिइन् ।

 प्रतियोगितामा नेपालका टप १६ राष्ट्रिय स्नुकर खेलाडीेसहित कोशी प्रदेशका ८ जना  र स्थानीय ८ जना गरेर ३२ जना खेलाडीको सहभागिता रहेको थियो । सहभागी खेलाडीहरुलाई प्रमाणपत्रसमेत बितरण गरिएको थियो ।