बिर्तामोड । 

झापाको बिर्तामोडमा प्रथम मिस्टर कोशी प्रदेश स्तरीय शारिरिक सुगठन प्रतियोगिता हुने भएको छ । सामाजिक विकास मन्त्रालय अन्तरगतको खेलकूद विकास बोर्डको आयोजना आगामी असार २२ गते प्रतियोगिता हुने भएको आज (मंगलबार) बिर्तामोडमा पत्रकार भेटघाट गरी जानकारी दिइएको हो । 

जिल्ला खेलकूद विकास समितिको संयोजन तथा झापा जिल्ला शारिरिक सुगठन तथा फिटनेस संघको प्राविधिक सहयोगमा प्रतियोगिता हुन लागेको पत्रकार भेटघाटका क्रममा जानकारी दिइएको छ । 

प्रतियोगितामा कोशी प्रदेशका १४ वटै जिल्लाबाट करिव २०० जना खेलाडीहरुको सहभागीता रहने जिल्ला खेलकूद विकास समिति झापाका अध्यक्ष भेसराज भण्डारी (प्रशान्त) ले जानकारी दिए । प्रशान्तका अनुसार सामाजिक विकास मन्त्रालय अन्तरगतको खेलकूद विकास बोर्डको नियमित कार्यक्रम अन्तरगत प्रतियोगिता हुन लागेको हो । प्रतियोगीले सम्बन्धीत जिल्लाबाट मात्र सहभागीता जनाउन पाइने प्रशान्तले बताए । 

fitnes

प्रतियोगतामा ५५, ६०, ६५, ७० र ७० वढी तौल समुहमा प्रतिस्पर्धा हुने झापा जिल्ला शारिरिक सुगठन तथा फिटनेस संघका उपाध्यक्ष राजु दाहालले बताए । सवै तौल समुहबाट पहिलो हुनेले प्रतियोगिताको ओभरअलमा सहभागीता जनाउनेछन् भने प्रत्येक तौल समुहबाट दोस्रो र तेस्रो हुने प्रतिस्पर्धीले क्रमश ७ हजार र ५ हजार नगर पुरस्कार पाउनेछन् । 

त्यस्तै प्रतियोगिताको ओभरअलबाट पहिलो, दोस्रो, तेस्रो, चौथो र पाँचौ हुने खेलाडीले नगर पुरस्कार क्रमश १ लाख ५० हजार, एक लाख, ५० हजार, ३० हजार र २० हजार रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गर्ने पत्रकार सम्मेलनमा बताइएको छ । प्रतियोगिताका लागि अनुमानित २० लाख रुपैयाँ खर्च हुने बताइएको छ । प्रतियोगितामा ट्रफी र मेडल ग्यालेक्सी फिटनेस बिर्तामोडले सौजन्य गर्ने जानकारी दिइएको छ । 

पत्रकार भेटघाट कार्यक्रममा झापा जिल्ला शारिरिक सुगठन तथा फिटनेस संघका सल्लाहकार तथा ग्यालेक्सी फिटनेसका सञ्चालक चन्द्र रानामगर, शारिरिक सुगठनका अन्तर्राष्ट्रिय खेलाडी राम दाहाल, संघकी कोषाध्यक्ष निसा पोमुलगायतको उपस्थिति रहेको थियो ।