बिर्तामोड । 

झापाको बिर्तामोडमा ‘स्नुकर नेपाल माटर्स २०८१’ प्रतियोगिता आज (शनिवार) बाट शुरु भएको छ । प्रतियोगिताको उद्घाटन कोशी प्रदेशका खानेपानी, सिंचाइ तथा ऊर्जा मन्त्री एकराज कार्कीले गरेका छन् । मन्त्री कार्कीले स्नुकर खेलेर प्रतियोगिताको उद्घाटन गरेका थिए ।  उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री कार्कीले जुनसुकै राजनीतिक दलबाट चुनाब लडेपनि जितिसकेपछि सवैको साझा हुनु पर्ने बताएका छन् ।

उनले बिर्तामोडमा भएको राष्ट्रिय स्तरको स्नुकर खेलले झापाको गौरव बढाउने भएकाले पार्टी हेर्न नहुने बताए । मन्त्री कार्कीले स्नुकर खेलका लागि आफुले सकेको सहयोग गर्ने प्रतिवद्धता जनाउँदै आयोजक बिर्तामोड स्नुकरलाई झापामा यस प्रकारको खेल आयोजना गरेकोमा धन्यवादसमेत दिएका छन् । 

प्रतियोगितामा नेपालका टप १६ राष्ट्रिय स्नुकर खेलाडीेसहित कोशी प्रदेशका ८ जना  र स्थानीय ८ जना गरेर ३२ जना खेलाडीको सहभागीता रहने आयोजक संस्था बिर्तामोड स्नुकरले जानकारी दिएको छ ।  

snooker 1

प्रतियोतिामा प्रथम हुने खेलाडीलाई २ लाख, फष्ट रनरअपलाई ८० हजार, हाइयस ब्रेकरलाई ५०, म्याक्सिमम ब्रेकरलाई एक लाख ४७ हजार र सेमी फाइनलमा प्रवेश गर्नेलाई २०/२० हजार रुपैयाँका दरले नगर पुरस्कारसहित ट्रफी प्रदान गरिने आयोजक संस्था बिर्तामोड स्नुकरका प्रकाश लिङ्देनले जानकारी दिए ।  लिङ्देनले हालसम्म नेपालमा म्याक्सिमम ब्रेकर कोही पनि नभएको बताए । 

स्नुकर खेल अन्तर्राष्ट्रिय स्तरमा निकै चर्चीत खेल भएपनि नेपालमा भने खासै यसको चर्चा नभएकोले उक्त प्रतियोगिता आयोजना गरिएको लिङ्देनले बताएका छन् । 

बिर्तामोड स्नुकरका सञ्चालक  खेम बुढाथोकीको अध्यक्षतामा भएको प्रतियोगिताको उद्घाटन कार्यक्रममा मन्त्री कार्कीको प्रमुख आतिथ्य रहेको थियो । प्रतियोगिताको औचित्यमाथि प्रकाश लिङ्देनले पारेको कार्यक्रममा झापामा २४ बर्षअघि स्नुकर खेल भित्र्याउने पहिलो ब्यक्ति चित्रप्रकाश राईले स्नुकर भित्र्याउँदाका आफ्ना अनुभव सुनाएका थिए । 

प्रतियोगितामा स्नुकर खेलमा दुई पटक नेपाल च्याम्पियन भएका आयुस गौतम र २ पटक कोशी प्रदेश च्याम्पियन भएका सरोज गौतमले प्रतिस्पर्धा गरेसँगै खेलको शुरुवात गरिएको थियो । 

उद्घाटन कार्यक्रममा बिर्तामोड नगरका नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला,  बिर्तामोड ४ का वडाध्यक्ष राहुल शर्मा, प्रेस काउन्सिल नेपालका सदस्य गणेश पोखरेललगायतको आतिथ्य रहेको थियो । कार्यक्रमको सञ्चालन बिर्तामोड स्नुकरकी आशा गुरुङले गरेकी थिइन् ।